“खार्पा थामडाँडा चम्पादेवी मोटर बाटो” सम्बन्धि दिपक तामाङको आफ्नो विचार

अन्तर्वार्ता/विचार

दिपक तामाङ

दिपक तामाङ

“खार्पा थामडाँडा चम्पादेवी मोटर बाटो” सम्बन्धि दिपक तामाङको आफ्नो विचार

फागुन ०८,  काठमाडौं । फ्ल्यास् खबर

१. विकासको परिभाषा :

परिवर्तन र विकासमा फरकता छ । परिवर्तन आफैंमा एक निरन्तर चलिरहने प्रक्रिया हो भने त्यहि प्रक्रियालाई थप उर्जाका साथ मानव लगायत यस पृथ्वीको अस्तित्व जोगाउने खालका कार्यहरु संचालन गर्नुलाई विकास भनिन्छ । हामी मानवको सोचाई, चिन्तन, मनन, चाहना, आवश्यकताहरु समयानुसार परिवर्तन भईरहेको हुन्छ र त्यसलाई निरन्तर चलिरहने प्रक्रियाले सम्बोधन गर्न नसकेको हुनाले नै विकासको आवश्यकता पर्दछ । जस्तैः परापुर्व कालमा मानिसहरु हिंडेरै जीवन व्यतित गर्थे, मानिसले चाहना राखे, चिन्तन मनन गरे र त हवाई मार्ग, पद मार्ग तथा जल मार्ग तथा सवारी साधनहरुको विकास भयो । जसले गर्दा मानिसको जीवन पहिले भन्दा धेरै सहज भयो । विभिन्न प्रकारका मेसिनहरुको विकासले छोटो समयमा धेरै काम सम्पन्न गर्न सक्ने भयो । पछिल्लो दशककै कुरा गर्ने हो भने संचार जगतले फड्को मारेको हामी देख्न सक्छौ । यस्तै यस्तै मानवको असिमित चाहनाहरुलाई परिपूर्ति गर्ने वहानामा विकासहरु भईरहेको हुन्छ ।

कुरा आयो के लाई विकास भन्ने त ? कुनै एक मात्र चिजको पूर्ण रुपमा सुधार हुनु विकास हो कि ? सामाजिक रुपान्तरण विकास हो कि या पूर्व निर्धारित कुनै एक योजनाको सफलता पछि देखा पर्ने अवस्था नै विकास हो । यी तीन अवस्थाहरुलाई सरसर्ति हेर्दा यी सबै विकास हो कि झै लाग्छ तर यी तीन अवस्थाहरु विकास नभईकन विकासको एक अंग चाहि हो । विकासलाई विकासवादी शास्त्रीहरुको नि आ-आफ्नै परिभाषाहरु रहेका छन् । चाहे जसले जे भने पनि विकास भनेको आर्थिक र सामाजिक अवस्थामा सकरात्मक परिवर्तन आउनु हो । यस्तो परिवर्तन कि जुन व्यवस्थित र संगठित हुन्छ । सन् १९५० भन्दा अगाडी आर्थिक समृद्धिलाई नै विकास भन्ने चलन थियो । जस अन्तर्गत राष्ट्रको आय, प्रतिव्यक्ति आय, मानिसको औसत आयुलाई लिईन्थ्यो । पछिल्लो सातौ दशक देखि कुनै पनि विकासको प्रतिफल सिधै त्यस ठाउँका जनताहरु माझ पुग्नुपर्दछ भन्ने अवधारणाको सिर्जना भयो, जस अन्तर्गत आर्थिक विकासको साथ साथै मानव विकास, सामाजिक विकास, लैङ्गिक विकास, वातावरणीय विकास, शैक्षिक विकास तथा दिगो विकास आदि पर्दछन् । संग-संगै विकासले मानवको आधारभूत आवश्यकताहरु पुरा गर्नुपर्ने, मानवको जीवन परिवर्तन गर्नुपर्ने, जनताकै नेतृत्वमा जनताकै प्रत्यक्ष सहभागिता जीविकापार्जन मार्फत जनतालाई नै फाईदा पुग्ने खालका कार्य सम्पादन हुनुपर्ने आदि कुराहरुले पनि प्रसय पाउन थाल्यो ।

माथिको कुराबाट के प्रष्ट हुनुपर्छ भने विकास भनेको क्षणिक समयको लागि क्षणिक व्यक्तिहरुको सहभागीतामा, क्षणिक व्यक्तिहरुलाई मात्र फाईदा पुग्ने खालका हुनुहुन्न । तर के कुरामा हेक्का राख्नुपर्छ भने विकास गर्दा विनाश हुनुहुन्न भन्नु चाँहि असम्भव कुरा हो तर त्यसलाई उचित व्यवस्थापन र भएको विनाशहरुको पुनर्स्थापना गर्नु एक अति आवश्यक कुरा हुन्छ ।

२. उसोभए खार्पा-थामडाँडा मोटर बाटो के हो त ?
कुरा गर्नै पर्दा खेरि हाल ट्राक मात्र खोलिएको दक्षिणकाली न.पा. ९ अन्तर्गतको खार्पा थामडाँडा मोटर बाटो पनि विकासको एक अंग हो । उक्त बाटोबाट काठमाडौं उपत्यकाको दक्षिणतिर अवस्थित चम्पादेवी र राजा पृथ्वीनारायण शाहले मकवानपुर हुंदै गोरखा जाने क्रममा उपत्यका विजयको योजना बनाएको ठाउँ चन्द्रागिरी  पुग्न सकिन्छ । यो बाटोको निर्माण हुनुपर्छ र भएकोमा खुशी व्यक्त गर्नेको जमात छुट्टै छ तर यसो गर्नु हुन्थेन, यसबाट धेरै बोटविरुवा नाश भयो, अनावश्यक रुपमा जनताले तिरेको करको दुरुपयोग भयो भन्नेको जमात नि छुट्टै छ । यस बाटो हुंदै चम्पादेवी आसपास पुग्ने र यस नगरपालिका कै उच्च स्थान वाणाँसुर (लगभग २२७८ मिटर उचाई जहाँ केहि दिन अघि मात्र हिउँ परेको थियो)  पुग्ने भएकोले यस स्थानसंग सम्बन्धित विकास निर्माणको कुरालाई लिएर आम नगरबासी तथा सरोकारवाला सबैको चासोको विषय बन्नु स्वभाविक हो । अब यस विषयमा निर्माण पक्षले उक्त योजनाको विस्तृत परियोजना प्रतिवेदन (Detail Project Report – DPR) बनाएर पञ्चवर्षिय वा दश वर्षिय योजना अघि सारेर स्थानीय समुदायको समेत राय सल्लाह अनुसार योजनाकृत कार्य सम्पन्न गर्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ । जसका लागि थप अध्ययन र अनुसन्धान मार्फत उक्त परियोजनाको पुन: र्योजना बनाउन सकिन्छ । अनि यसबाट त्यस ठाउँ र नगरको विकास गर्नमा सहायता मिल्ने छ । नगरको आय वृद्धि हुनेछ, स्थनीय समुदायहरुको जीवनस्तर उकासिनेछ, रोजगारीका नयाँ सम्भावनाहरु खुल्नेछन्, आन्तरिक र वाह्य पर्यटनको विकास हुनेछ । अनि मात्र यस सडकलाई विकास भन्न सकिन्छ । हैन भने त्यो खडक एक खण्डहरमा परिणत भई एक ईतिहास मात्र बन्न सक्ने सम्भावना पनि हुन सक्छ ।

३. तत्काल सम्पन्न गर्नुपर्ने क्रियाकलापहरु  :
उक्त सडक विस्तारबाट हुन सक्ने सम्भाव्य विपद्, विनाश तथा क्षतिहरुको जोखिम न्यूनिकरण गर्ने खालका कार्यहरुलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ । प्रारम्भिक रुपमा तत्काल गर्नुपर्ने कार्यहरु सडक निमार्णको क्रममा निस्केका ढुङ्गाहरुको उचित व्यवस्थापन गरी वर्षायाममा ढुङ्गाहरु गुल्टिएर मानव वस्तीमा क्षति पुग्नबाट जोगाउने, जंगलबाट निस्केका भेल बाढीहरुलाई व्यवस्थापन गर्नका लागि आवश्य ड्रेनहरु निर्माण गर्ने, सडकको दायाँबायाँ नासिएका रुखहरु र ढुङ्गाहरुलाई व्यक्तिगत रुपमा प्रयोग तथा बाहिर निकासी गर्नमा रोक लगाउने एव सो को उचित व्यवस्थापन गर्नलाई सम्बन्धित बन उपभोक्ता समतिलाई जिम्मा दिने, अनियन्त्रित रुख कटान र ढुङ्गा झिक्नमा रोक लगाउने, कालिज तथा बंदेलको शिकार खेल्नमा रोक लगाउने, जंगली जडीबुटीहरुको चोरी निकासीमा रोक लगाउने, शंकास्पद व्यक्तिहरु तथा एक्लै एक्लै व्यक्तिहरुलाई उक्त सडक हुंदै जंगलमा जानमा प्रतिवन्ध लगाउने, हातहतियार तथा पासोहरुलाई प्रतिबन्ध लगाउने, आगलागी हुनबाट जोगाउने खालका उपायहरु अवलम्बन गर्ने तथा वस्ती भन्दा माथि अग्निरेखाको व्यवस्थापन गर्ने, जंगली जनावरहरुलाई पानीको व्यवस्थापनको लागि ठाउँ ठाउँमा पोखरीहरु निर्माण गर्ने, सवारी साधनहरुको हर्न र आवाजले जंगली जनावरहरु त्यस ठाउँ छोडि भाग्ने र लोप हुने भएकोले कुनै पनि सवारी साधनहरु हाल नवराज गुरुङको घर भन्दा माथि पठाउनमा रोक लगाउने, बरु त्यहाँ निर पार्किङ गर्न मिल्ने खालको खुल्ला चौरको निर्माण गर्ने । यी कामहरु तत्काल पुरा गरे पश्चात मात्र बाँकी कामहरु योजनाबद्ध ढंगमा क्रमश गर्न सकिन्छ । भविष्यमा उक्त बाटोको स्तरोन्नती गर्ने योजना छ भने पनि उक्त कुरा अहिल्यै त्यसलाई आधार बनाएर त्यसमा उल्लेख गर्नुपर्दछ । जब जब बजेट आउँछ अनि हेरौला नि भन्दै जाने हो भने त्यो सडक ४/५ वर्ष पछि अस्तित्व विहिन हुन्छ भन्नेमा दुई मत नै छैन ।

४. DPR मा समेट्नै पर्ने बुँदाहरु  :
सडकको उपयोगिता संरक्षण संचालन विधि र दिगोपना, उक्त सडकबाट स्थानीय बासिन्दा र नगरलाई हुने फाईदाहरुको उल्लेख, बन्यजन्तुहरु तथा वातावरण संरक्षणका विस्तृत योजनाहरु, हाल बाटो पुगेको थामडाँडामा विश्राम स्थल निर्माणको योजना, त्यहाँबाट दायाँ हुंदै चम्पादेवी मन्दिर सम्मको पदमार्ग निर्माण तथा व्यवस्थापन, फोहोर व्यवस्थापनको नीति तथा कार्ययोजना (कीर्तिपूर न.पा.संग तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा), मन्दिर व्यवस्थापन, झाडी तथा रुख व्यवस्थापन तथा अन्य । त्यस्तै गरि बायाँ हुंदै भष्मासुर र वाणासुर डाँडा सम्मको पदमार्गको निर्माण र व्यवस्थापन, फोहोर व्यवस्थापनको नीति तथा कार्ययोजना (कीर्तिपूर न.पा.संग तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा), भ्यू टावरको योजना, सो बाटो हुंदै कीर्तिपुरको मच्छेगाउँ पुग्ने, भालेश्वर पुग्ने, डांडिखेल पुग्ने र कुलेखानी मार्खु पुग्ने पदमार्गहरुको याजना आदि ।

५. हामी के चाहन्छौ ?
सुचनाको हकको आधारमा हाल निर्माण सम्पन्न सडकको सार्वजनिक लेखापरीक्षण कार्यक्रम संचालन हुनुपर्दछ । जसमा बजेट व्यवस्थापन, कार्य छनौट प्रक्रिया, उपभोक्ता समितिको गठन तथा कार्य संचालनको अभिलेख, कार्यजिम्मेवारी प्राप्त व्यक्ति तथा उपभोक्ता समितिको प्रतिवेदन, खर्चहरुको लेखाजोखा कार्य सम्पन्न सम्बन्धि प्राविधिक प्रतिवेदन र आवश्यक अन्य सबै बुदाँ नं. ३ र ४ बमोजिम उल्लेख भएका सम्पूर्ण कामहरु यथासिघ्र संचालन हुनुपर्छ ।

Comments

comments