मनमोहन अस्पताल: साप्ताहिक रोड साइड क्लिनिकदेखि टेलिमेडिसिन सम्म

ताजा अपडेट स्वास्थ्य

मनमोहन अस्पताल: साप्ताहिक रोड साइड क्लिनिकदेखि टेलिमेडिसिन सम्म

चैत्र १०,  काठमाडौं । फ्ल्यास् खबर

स्वास्थ्य नै जीवन हो र स्वस्थ जनशक्ति नै देशका सम्पत्ति हुन् भन्ने मुल नाराका साथ स्थानीय क्षेत्रको समग्र स्वास्थ्य सुधारका लागि हालको दक्षिणकाली न. पा. ६ मा स्थापित मनमोहन स्मृति सामुदायिक अस्पताल एक उदाहरणीय अस्पतालको रूपमा प्रस्तुत भएको छ। २०५१ सालमा फर्पिङ क्षेत्र एम्बुलेन्स ब्यवस्थापन समितिले फर्पिङ क्षेत्रमा पहिलो पटक एम्बुलेन्स सेवा प्रदान गर्दा स्थानीय जनतालाई निकै राहत पुगे लगत्तै यस क्षेत्रमा एक स्वास्थ्य सेवा केन्द्र पनि स्थापना गर्ने सोच विकास भएको हो र फलस्वरुप मिति २०५७ साल बैशाख १३ गते प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको वार्षिक पूण्यतिथिको अवसरमा नेकपा एमालेका महासचिव माधवकुमार नेपालज्युद्वारा तत्कालिन दक्षिणकाली गा.वि.स. वडा नं १ मा मनमोहन स्मृति सामुदायिक स्वास्थ्य केन्द्र भवनको शिलान्यास सप्पन्न भयो ।

विभिन्न आरोह अवरोध वावजुद २०६० सालमा मनमोहन स्मृति विकास केन्द्र स्थापना पछि न्यू सेडेल नामक गैरसरकारी संस्थाको सहयोगमा सप्ताहिक रोडसाइड क्लिनिकको शुभारम्भ भयो। उक्त संस्थाकै सहयोगमा पूर्वाधार निर्माण गर्दै २०६१ सालमा ओ.पि.डीको सुरुवात गरी साप्ताहिक रोडसाइड क्लिनिकलाई मनमोहन स्मृति सामुदायिक अस्पतालको रुपमा विकास गरिएको हो।

सामन्य साप्ताहिक रोडसाइड क्लिनिकको रुपमा स्थापित यस स्वास्थ्य केन्द्र अहिले १५ बेडसहितको विभिन्न सेवा सुविधा सम्पन्न अस्पतालको रूपमा परिणत भइसकेको छ। यस अस्पतालले बिरामीलाई दैनिक ओ.पि.डी तथा २४ सै घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ र त्यसका साथै समान्य शल्यक्रिया सेवा, चिकित्सक सेवा देखि इ.सि.जि, डिजिटल एक्स-रे, भिडियो एक्स-रे, दन्त सेवा, अन्तरङ्ग सेवा, गर्व परीक्षण, खोप तथा बाल स्वास्थ्य सेवा, क्षयरोग उपचार सेवा लगायत नि:शुल्क प्रसुती तथा मातृशिशु सेवा, १२ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा पनि प्रदान गर्दै आएको छ । यस अस्पतालले महिनाको हरेक दोस्रो र चौथो शनिबार मुटुरोग विशेषज्ञ सेवा तथा इको सेवा, बाल रोग र फिजियो थेरापी सम्बन्धि सेवा पनि प्रदान गर्दछ भने प्रत्येक बुधबार आँखा तथा नाक कान घाँटी सम्बन्धि सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो मङ्गलबार हाड जोर्नी तथा नसा सम्बन्धि सेवा पनि बिरामीलाई उपलब्ध गराएको छ।

वार्षिक २० हजार भन्दा बढी बिरामीको सेवामा ३ जना पूर्ण रूपमा २४ सै घण्टा र ५ जना विशेषज्ञ पार्ट टाइमर रूपमा ८ जना डाक्टर गरी कुल ५० स्वास्थ्य कर्मचारी रहेको यस अस्पतालमा सबैभन्दा बढी स्त्रीरोग सम्बन्धि बिरामी आउने गरेको अस्पतालको तथ्याङले देखाएको छ। महत्वपुर्ण विशेष सुविधाहरु सहित काठमाडौ मोडेल अस्पतालको प्राबिधिक सहयोग र डा. महावीर पुनको सहयोगमा हालै टेलिमेडिसिन सम्मको सेवा पनि संचालन गर्नुका साथै अपरेसन थिएटरको पनि व्यवस्था गरेको छ।

अस्पताल अझै बिस्तारका लागि निकट भविष्य १०० बेडको अस्पतालसहित शिक्षण अस्पतालको रूपमा स्थापना गरी प्राविधिक विषयहरु अध्ययन गराउने र सामुदायिक स्वास्थ्यसम्बन्धि सिक्ने र सिकाउने थलो बनाउने पनि योजना रहेको कुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशी शर्मा अर्याल ज्यु बताउनु हुन्छ। उनले यस अस्पतालमै सकेसम्मको सम्पूर्ण सुविधा उपलब्ध गराइ यहाँका स्थानीयलाई उपचारका लागि कतै जान नपर्ने बनाउने सोच राखेको कुरा पनि बताउनु हुन्छ। छोटो समयमै यसले खडा गरेको पूर्वाधार,यसले थप्न सकेको सुविधा र यसले बढाएको कार्यक्षेत्रले गर्दा यस अस्पतालको भविष्यको योजना पनि सफल हुने प्रतीत हुन्छ र अझै सफल हुने दावी गर्न सकिन्छ ।