उपत्यकाको दक्षिणका शिव र शक्ति – लेखक : विजयकुमार महर्जन

अन्तर्वार्ता/विचार

विजयकुमार महर्जन

उपत्यकाको दक्षिणका शिव र शक्ति : 

फागुन १६,  काठमाडौं । फ्ल्यास् खबर

भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ । भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर पनि चिनिन्छ । यिनको अर्धाङ्गिनी(शक्ति)को नाम पार्वती हो । भगवान शिवलाई संहारको देवता भनिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन् । अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन् । त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन् । यसरी नै जब जब प्रकृतिमा उत्पात मच्चाउँने दानवहरुको जन्म भयो तब तब शक्ति अर्थात माता पार्वतीले विभिन्न स्वरुप लिई ती दानवहरुलाई संहार गरेको कुराहरु हामीले वेदहरुमा पढ्न पाउँछौ । शिव र शक्ति एकअर्काका परिपुरक हुन् । जब शिव र शक्तिको मिलन हुन्छ तव सृष्टि हुन्छ । सृष्टिलाई जन्म दिँदा शिव शक्तिले धारण गरेको प्रयत्नको अवस्था व्रम्ह रुप हो भने त्यसलाई जीवित राखी रहने प्रयत्नको अवस्था नारायण रुप हो ।

काठमाण्डौ उपत्यकाको दक्षिणतर्फ माता दक्षिणकालीको प्रसिद्ध मन्दिर रहेको जानकारी सबैमा छ । तर त्यही स्थान नजिक रहेको सबैभन्दा प्राचीन देवता मध्ये एक गोपालेश्वर मन्दिरको जानकारी सबैमा नहुन सक्छ । जसको लिंगको आकार प्रकारले पनि प्राचीनको बोध हुन्छ । नेपालका देवदेवीको वर्णन गर्ने हिमवत्सखण्ड (स्कन्दपुराण) को १०६ अध्यायमा गोपालेश्वरको विशेष महात्म्य वर्णन गरिएको छ । (स्कन्दपुराण हिमवत् खण्ड अध्याय १०६ अनुसार नेमुनि र विरुपाक्ष तीर्थयात्रा गर्दाको प्रसङ्गमा सम्बाद हुँदा गोपालेश्वर महादेवको उत्पत्तिका बारेमा यस्तो वर्णन पाइन्छ । हालको गोपालेश्वर सामुदायिक वन र गोपालेश्वर भएको स्थानको पौराणिक नाम मर्कटाचल पर्वत हो । सत्ययुगमा देवता र दैत्यहरु एकआपसमा मिलि समुन्द्र मन्थन गरेको बेलामा मन्थन गर्दा जेजति बस्तु प्राप्त हुन्छ ती सबै बराबर भाग लगाउने निधो भएपछि समुन्द्रबाट जेजति राम्रा बस्तु र रत्न प्राप्त भयो प्राय सबै नै देवताहरुले आफू-आफूमा भागवण्डा गरेको प्रसंग पाइन्छ  । यही क्रममा अमृत प्राप्त भयो देवताहरुले दैत्यहरुलाई खान दिएमा अजर र अमर हुन्छन् र देवताहरुलाई दुःख दिन्छन् भनेर विष्णु भगवानले मोहिनी रुप धारण गरी दैत्यहरुलाई मदिरा र देवताहरुलाई अमृत खुवाएछन् । देव र दैत्यहरुको पङ्ती (लहर) मा राहु दैत्य चन्द्रमा र सूर्यको विचमा भेषबदली देवता भएर बसी अमृत खाएछन् । यो कुराको बोध भएपछि विष्णुद्वारा राहुको टाउको सुदर्शन चक्रद्वारा काटियो । अमृत पान गरेको कारणबाट राहुको मृत्यु भएन झन उल्टो दुई ग्रह राहु र केतु भन्ने नवग्रह मध्येका भए । ठगिएका दैत्यहरु र देवताविच देवासुर संग्राम भयो । लडाईमा भाग लिएका र लडाइमा भाग नलिएका निरपराधि दैत्यहरुलाई समेत विष्णुद्वारा मारिए । देवासुर संग्राम देवताहरुले जिते ।

अपराध गरेका खण्डमा सो पापको भागिदार न दानव न देवता सबै हुनु पर्दोरहेछ । किम्बदन्ती अनुसार विष्णु भगवानले गरेको सोहि पापमोचन गर्न अर्थात् पापबाट उन्मुक्ति पाउन पृथ्वीको भारतवर्ष र भारतवर्षको पनि हिमवतखण्डको तीर्थयात्रा गर्दै नेपाल आउनु भएछ । सोही क्रममा यात्रा गर्दा गर्दै मर्कटाचल पर्वतको एक ठाउँमा कामधेनु गाइले जमीनमा खुसी साथ दूधको धारा बगाएको देख्नु भयो । कामधेनु गाईलाई नजिकबाट दर्शन र स्पर्श गरेमा आफ्ना पापहरु नाश भै जान्छन् भन्ने मान्यताका साथ गाई नजिक पुग्न खोज्दा गाई आकाश मार्गबाट भागी अलप भइन् । श्री विष्णुले कामधेनुको प्रार्थना गर्नु भयो अनि कामधेनुले अदृश्य भएर नै भनिन् “हे विष्णु गाई पाल्नुहोस, गाईको सेवा गर्नुहोस् तपाईंको इच्छा सिद्व हुनेछ ।” द्वापर युगमा भगवान विष्णु श्री कृष्ण अवतार भई जन्मनु भयो र गाई पाल्नु भयो गाईको सेवा गर्नु भयो अनि उहाँको नाम गोपाल रहन गयो । कामधेनुले फेरी भन्नु भयो “हे विष्णु मैले दूधको धारा बगाएको स्थानमा उत्खनन् गर्नुहोस् । मानवमात्रलाई इच्छामाफिक फल दिने (प्राकृत) शिव लिङ्गको दर्शन र सेवा गर्नुहोस, चिताएको वर प्राप्त हुनेछ ।” श्री विष्णुले खनेर हेर्नु भयो । तहाँ ठुलो प्राकृत स्वयम्भू शिव लिङ्ग सूर्य समान तेज भएका फेला पार्नु भयो । श्री विष्णुले शिव र शक्ति स्वरुपा कालिको पनि दर्शन पाउनु भयो । अनि भक्तिसाथ पूजा अर्चना परिक्रमा गरी स्तुति गर्नु भयो ।

यति भएपछि शिवजी विष्णुसँग धेरै खुसी हुनु भयो र भन्नु भयो “हे विष्णु तपाईको भक्तिभाव र गंगाजी समेत यहाँ आएपछि म खुसी भएको छु । अतः यो लिङ्ग तपाई र मेरा नामले प्रसिद्व हुनेछ । जस–जसले यो हरिहरात्मक “गोपालेश्वर” नाम जप गदछ वा यसको दर्शन गर्दछ त्यसको सबै पाप नास भै शिवलोक जानेछन् भन्ने आज्ञा समेत भएको भन्ने कुरा स्थानीयवासीहरु हालसम्म पनि भक्ति भावका साथ बताउने गर्दछन् । गोपालेश्वर मन्दिरभित्र प्राकृत स्थूल ठुलो शिव लिङ्ग छ । यो शिव लिङ्ग हालको हिमाञ्चल प्रदेशमा रहेको केदारनाथ लिङ्गको हुबहु रुप छ । केदारनाथ जान नसक्नेले यहाँ दर्शन गर्दा सोही फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ  ।

प्रसिद्ध श्री दक्षिणकाली माईको उत्पत्तिका सम्बन्धमा भन्नु पर्दाः फर्पिङको गोरखनाथ पादुका र बज्रयोगिनी मन्दिर रहेको डाँडा जसको उत्तरतिरको छेउमा चार नारायण मध्येका एक श्री शेषनारायण मन्दिर समेत अवस्थित रहेको छ । उक्त डाँडा दक्षिणकाली उत्पत्तिस्थलले समेत परिचित छ । जसको पूर्वपट्टीको समथर स्थानमा फर्पिङ शहर रहेको छ । यस डाँडाको अघिल्तिर गोरखनाथ पादुका रहेको ठाउँ जुन असुरा केभले समेत परिचित रहेको छ । यसको वास्तविक नाम राक्षसी गुफा हो । असुरहरु बस्ने गुफा भएकै कारण बुद्ध धर्मालम्बीहरुमा यो स्थान असुरा केभका नामले प्रख्यात रहेको छ । यसकै माथि रहेको डाँडाको वीचको थुम्कामा पहिले दक्षिणकालीको पीठ थियो भन्ने स्थानीयबासीहरुको भनाई रहेका छ । जहाँ आफ्ना गणहरु सहित दक्षिणकाली माई विचरण गर्थिन् र एकान्त जंगलमा मध्यरात्रीतिर फर्पिङबासीहरु देखा परेमा  योगिनी भक्षण गर्दथिन भन्ने भनाई पाइन्छ । फर्पिङ शहर उक्त डाँडाबाट छर्लङ्ग देखिन्छ । यसरी मान्छेको क्षति हुन थालेकाले त्यस बेलाका तांत्रिकाचार्यहरुले मन्त्रबलद्धारा देवीगणलाई स्तमन गरी उपासनाद्धारा रिझाई फर्पिङ शहरभन्दा तल खोँचमा पर्ने दुई नदि उद्धारवती गंगा र पूर्णवर्ति गंगाको दोभान र मसानघाटमा दक्षिणकाली माईलाई आफ्ना गणसहित आवास भूमि बनाउन वाध्य गरे उनीलाई बेला बेलामा राँगा, हाँस, बोका, भेडा बली गर्ने प्रतिज्ञा पनि गरे । त्यस बेलादेखि निर्जन, किनार जंगलभित्र दक्षिणकालीको पीठ स्थापना भएको हो र तत् पश्चात मात्र त्यहाँका मानिस सुरक्षित रहे भन्ने कथन छ । देवमाला वंशावलीमा श्री दक्षिणकाली माईको मूर्ति दक्षिणपटि पूर्णवती गंगा र उत्तरपट्टि उद्धारवती गंगा संगममा सहस्त्र बलि, नरबलि महापूजा कोट्याहुति यज्ञ गरेर प्रतिष्ठा कर्मको विधि पुयाई वैशाख शुक्ल तृतीया (अक्षय तृतीया) को दिन स्थापना गरेको कुरा उल्लेख पाइन्छ ।

श्री दक्षिणकाली मन्दिर पुजाका लागि जानु पूर्व श्री गोपालेश्वर अर्थात शिवको दर्शन पश्चात मात्र शक्तिको दर्शन गर्ने प्रचलन रहेकोमा हाल यातायातको सहजताका कारण दक्षिणकाली मन्दिरमा सिधै दर्शनार्थीहरु जाने र सोही स्थानबाट फर्कने प्रचलन यथावत छ । पहिला पहिला राजपरिवारबाट माता दक्षिणकालीको दर्शनार्थ सवारी हुँदा पनि पहिले शिव अर्थात भगवान श्री गोपालेश्वर महादेव मन्दिरमा पुजा आजा पश्चात मात्र माता दक्षिणकाली मन्दिरमा पुजा अर्चना गर्न जाने प्रचलन रहेको यहाँका स्थानीय बृद्धवृद्धाहरु भन्ने गर्दछन् । हाल आएर उक्त पुजा गर्ने प्रचलत विभिन्न समयमा राजपरिवारका सदस्यहरुको यस श्री गोपालेश्वर मन्दिर आवागमनले पनि प्रष्ट हुन्छ । शिव अर्थात श्री गोपालेश्वर मन्दिर भने गुम्बज शैलीमा रहेकोमा हाल नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभागबाट करिब ३ करोड ७६ लाख रुपैयाँको निकासा सहित २ वर्षभित्र १९९० सालको महाभूकम्पभन्दा अगाडिको तले शैली अर्थात ३ तल्लाको बनाउनका लागि पुनःनिर्माण कार्यको थालनी भईरहेको छ ।

 

 

Comments

comments