निरन्तरता दियौं भने सफलता टाढा छैन, विदेश होईन स्वदेशमै केहि गरौं । धारणा – दिपक तामाङ

अन्तर्वार्ता/विचार ताजा अपडेट
दिपक तामाङ 

फागुन २०,  काठमाडौं । दक्षिणकाली अनलाईन

“गरे के नहुने रहेछ र ! जुन सुकै काममा पनि लगनशील र निरन्तरता भयो भने अवश्य पनि राम्रो हुँदो रहेछ, मात्र कुर्न सक्नु पर्दो रहेछ ।” आज निरन्तरको अर्थ बुझाउने एक जना बुढी आमा र उनको छोराको कथा लेख्ने प्रयास गरें । उहाँले आफु बसेको ठाउँबाट दाहिने तिर हातले ईशारा गर्दै देखाउंदै भन्दै हुनुहुन्थ्यो – “पहिले मैले जानी नजानी त्यही ठाउँबाट चटपटे बेच्न सुरु गरें, हेटौंडा जाने र काठमाडौं फर्किने टाटा सुमोका यात्रुहरुले किनेर खान्थ्यो, अरु धन्दा गर्न सक्दैनथ्यो, घरमै चुपो लागेर बस्नु भन्दा दुई चार रुपैयाँको व्यापार हुन्छ कि भनेर सानो कामबाट सुरु गरेको थिए ।” “सुरुमा यहाँ अहिलेको जस्तो खुल्ला ठाउँ कहाँ थियो र, झाडी नै झाडी, दिउँसै डरलाग्ने ठाउँ थियो, विदेश गएर आईसकेको कुमार (उनको छोरा) ले अब विदेश जान्न, यहिं केहि गर्छु भनेर आफैले खर्च गरेर यहिनिरको झाडीहरु फांडेर सानो ठाउँ बनाएर सुरुमा उसैले हो सानो पसल थापेको, पछि पनि वडाले यो ठाउँ ठूलो बनाउंदा उसले नि सहयोग गरेको थियो मेरो नि दिउँसो केहि काम नभएकोले पछि म पनि छोरालाई सघाउन नि हुन्छ अनि केहि नबेचेनी चटपटे भए पनि बेचौला भनेर छोरासंगै यहि आएर व्यापार गर्न थाले ।”

उनले भन्दै थिईन् । सोही सडक भएर यात्रु बाहक टाटासुमोहरु गुड्न थालेको वर्षै भईसकेको छ । एकान्त अनि सुनसान ठाउँ भएरै होला गाडीहरु त्यहि रोक्थ्यो खुल्ला शौच गर्नलाई । जसले गर्दा उक्त स्थान दुर्गन्धमय भईसकेको थियो । “प्राय सबै गाडीहरू रोकिन्थ्यो यहाँ, यात्रुहरु गाडीबाट ओर्लेपछि माथि कुनामा झाडी तिर दौडिन्थ्यो भने कोही कोही चांहि यहि नजिकै बसिदिन्थ्यो । अनि मैले नि कराईदिन्थे” – विगत सम्झेर उनी हाँस्दै थप्दै थिईन । हाँस्दा खेरि मुजा परेको निधार र गाला बिचको आखाँमा खुशी झल्किरहेको प्रष्टै देखिन्थ्यो । उमेरले ६५ कटेकी दुर्गा खत्री अझै पनि तगडा छिन । शरिरले सकुन्जेल केहि न केहि गरिरहनु पर्छ भन्ने उनको धारणा छ । “खै बाबु, म हिसाब जान्दिन, छोराको र मेरो समेत जोडेर सालाखाला दिनमा पन्ध्र सय देखि लिएर पच्चीस सय सम्म र कुनै बेला तीन हजार सम्म पनि व्यापार हुन्छ, सबै भन्दा बढि यि यि चिजहरु बिक्री हुन्छन” उनले स्थानीय स्तरमा उपलब्ध हुने लप्सी, काउली, साग, गुन्द्रुक, गेडागुडी, खोर्सानी, टिमुर देखाउंदै दिनमा अहिले कत्तिको व्यापार हुन्छ भन्ने मेरो जिज्ञासा मेटाउंदै भन्दै थिईन । चटपटे बेच्ने बेलामा दिनमा दुई तीन सयको व्यापार हुन पनि मुस्किल मुस्किल थियो उनलाई । आमा छोराको पसल संगसंगै छ अहिले, भ्याउँदा दुवै जना र नभ्याउँदा एकै जनाले चलाउंछन् पसल । पसलमा स्थानीय तरकारीहरु बाहेक चिया नास्ताको पनि बन्दोबस्त रहेको छ । व्यापार गर्नलाई चाहिने सामाग्रीहरुको बन्दोबस्त छोरा र बुहारीले गर्छन । आफुहरुले मात्र नभ्याएर हिसाब किताब गर्न सक्ने एक जना स्थानीय बहिनीलाई पनि रोजगारी दिएकी छिन । कुनै पनि कामलाई निरन्तरता दियौं भने सफलता टाढा छैन, विदेश होईन स्वदेशमै केहि गरौं र गर्नु पर्छ भन्ने संदेशहरु पाउन सक्छौ हामीले यि बुढी आमा र उनको छोराको यस कामबाट ।

दक्षिणकाली नगरपालिका वडा नं. ९ एवं साविक टल्कु डुंडेचौर गा.वि.स.को पनि वडा नं. ९ विष्णुखोलामा हाल उनीहरु जस्तै अरु चार पाँच जना स्थानीयहरुले पनि साना तिना पसल व्यवसाय संचालन गरेर आफ्नो जीविकोपार्जन गरिरहेका छन भने स्थानीय स्तरमा उपलब्ध हुने खाध्य सामाग्रीहरुले पनि बजार पाईरहेका छन । काठमाडौ देखि हेटौंडा जाने र हेटौंडा हुंदै काठमाडौं आउने छोटो दुरीको वैकल्पिक मार्गको रुपमा पछिल्ला वर्षहरुमा यस रुट हुंदै गुड्ने सवारी साधनहरुको चाप दिनानुदिन बढिरहेको छ । वडा कार्यालयको पहलमा अहिले व्यवस्थित रुपमा विष्णुखोला आसपासमा पसल संचालनार्थ ट्रष्टहरुको निर्माण भएको छ भने व्यवस्थित शौचालयको पनि व्यवस्थापन गरिएको छ । जसबाट ९ नं. वडा कार्यालयले अतिरिक्त आम्दानी पनि गरिरहेको छ । अहिले त्यहाँबाट निस्कने फोहरमैला व्यवस्थापनको लागि पनि वडा कार्यालयले पहल गरिरहेको छ । वर्षायाममा खोला बढेर हुने सम्भावित क्षतिलाई मध्यनजर गरी अहिल्यै देखि जोखिम न्यूनिकरणको उपायहरु अवलम्बन गर्नुपर्ने आवश्यकता देखिन्छ भने सवारी साधनहरुको चापलाई मध्यनजर गरी सडक दुर्घटना न्यूनिकरण गर्नका लागि पनि सम्बन्धित सरोकारवाला पक्षहरुले समयमा नै आवश्यक ध्यान दिनुपर्ने देखिन्छ ।

 

Comments

comments