तीन तहमा रिक्त ५० स्थानका लागि १४ मंसिरमा उपनिर्वाचन, कहाँ कहाँ छ रिक्त ?

ताजा अपडेट विविध

तीन तहमा रिक्त ५० स्थानका लागि १४ मंसिरमा उपनिर्वाचन, कहाँ कहाँ छ रिक्त ?

श्रावण १७, काठमाडौं । फ्ल्यास खबर

तीन तह प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त रहेका ५० स्थानका लागि १४ मंसिरमा उपनिर्वाचन हुने भएको छ । विभिन्न कारणले जनप्रतिनिधिविहीन बनेका ५० स्थानमा उपनिर्वाचन गर्न १४ मंसिरका लागि तोक्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री केपी ओलीसँग आयोगका पदाधिकारीको भेट र बिहीबारको सर्वदलीय बैठकपछि १४ मंसिरमा उपनिर्वाचन गर्ने सिफारिस गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले बताए । निर्वाचन कानुनमा स्थानीय तहको निर्वाचनको मिति सरकार र प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनको मिति निर्वाचन आयोगले सरकारसँगको परामर्शमा घोषणा गर्ने व्यवस्था छ ।

सर्वदलीय बैठकमा दलहरूले आगामी मंसिरसम्म तीनै तहको निर्वाचन एकै दिन गर्दा उपयुक्त हुने सुझाब आएकाले त्यसैअनुसार सिफारिस गरिएको प्रमुख आयुक्त थपलियाले बताए । एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेश सभा सदस्य, एक नगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४१ वडाध्यक्ष गरी ५० पद रिक्त छन् । कहाँ कहाँ छ रिक्त

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभामा एक पद रिक्त रहेको छ । त्यहाँबाट निर्वाचित नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । प्रदेश सभामा तीन सिट खाली छ दाङ ३ (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएको थियो ।भक्तपुर १ –ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो ।त्यस्तै, बाग्लुङ २ (ख) बाट निर्वाचित सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएको थियो ।

सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको निधन भएको छ भने महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खडगबहादुर कटुवाल र पाँचथरको फाल्गुनानन्द गाउँपालिका अध्यक्ष अमरबहादुर नेम्वाङको मृत्यु भएर खाली भएको हो ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपप्रमुख सिन्धु हमाल शाहीको निधन भएपछि त्यहाँ पनि उपनिर्वाचन हुनुपर्नेछ ।त्यस्तै, ३६ जिल्लाका ४१ वडाध्यक्ष पद खाली रहेको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।

यो सूचना यस काठामाण्डौं वाट साभार गरिएको हो ।

Comments

comments