छोरीलाई चिट्ठी

कला/साहित्य ताजा अपडेट पाठक चौतारी

छोरी तिमी जन्मनुअघि मेरो दुइवटा गर्भ तुहिएका थिए। म समाजबाट तुहिएकी आइमाइ भनेर तिरष्कृत थिएँ। जब तिम्रो आगमन भयो हाम्रो संसारमा तब सायदै कुनै आमा त्यति धेरै उत्साहित हुने थिइनन् होला, तर तिम्रो बाबा धेरै हर्षित हुनुहुन्थ्यो । वहाँले तिम्रो आगमनको खुशीयालीमा पूरा अस्पतालमा लड्डु बाँडेर आफनो खुशी झन् धेरै बढाउनु भएको थियो ।

मैले अरु जसरी सहजरुपमा तिमीलाई जन्म दिन सकिनँ छोरी । लगातार ३६ घन्टाको ब्यथाले मलाई सुस्त र मेरो दिशा पिसाब रोकिएको र मेरो आँखा पूरै बन्द भएका थिए । मैले लगभग अब मेरो जीवनको अन्तिम अवस्था समेत हो भन्ने निश्चित गरेकी थिएँ, कारण म छट्पटीएको मलाई हेर्ने डाक्टर थिएनन् र त्यो दिन शनिबार परेकाले बिदा परेको र उनको डिउटी थिएन । र अर्काे समुहले हेरेको बिरामी हतपत अरुले नहेर्ने रहेछन् । तर पनि मेरो दुःख सकिन बाँकी रहेकाले होला, भाग्यले एकजना डक्टरको आँखा म माथि पारिदियो सायद । ती डाक्टरले ‘यो क्रिटिकल केस तुरुन्त ओ टिमा लिएर हिँड’ भनेपछि त्यहाँबाट लगेका थिए ।

त्यसपछि मात्र पाइप लगाएर दिशा पिसाब बाहिर निकालेर बल्ल तिमीलाई निकालेका थिए । प्रसब पीडामाथि दुई घन्टाको दिसापिसाब बन्दको पीडा त्यसपछि पेट चिरेर तिमीलाई निकाल्नुको पीडा उफ !

अप्रेशनको २४ घन्टा पछि होसमा आउँदा मलाई वार्डमा सारिएको रहेछ । म धेरै कमजोर भएको कारण मलाई आराम दिन निन्द्राको इन्जेक्सन दिएको रहेछ । जब होसमा आएँ तिमी जोड–जोडले रोइरहेकी थियौ । मेरो बुवाले मेरो टाउको सुमसुम्याउँदै भन्नु भयो– छोरी तिमीलाई बधाई छ, तिमीजस्तै ज्ञानी नातिनी जन्मिएकी छिन् । तिमीले हामीलाई धेरै माया गरेकी छौ त्यस्को बदलामा अब नानीले नि तिमीलाई धेरै माया दिनेछिन् ।’ यति कुरा कानमा परेको थियो, तर बोल्ने हुति पटक्कै थिएन । मैले मुन्टो हल्लाएँ मात्रै अनि आँखा तिरमिर भइरहेका थिए । मेरा डक्टरले भने–रजनी कस्तो छ तिमीलाई ? ल बधाई छ ! तिमीले धेरै कष्टपछि यति महँगी छोरी पायौ ।’

त्यहि बसेर आमाले आँखाभरि आँसु लिएर तिमीलाई ल्याएर देखाइदिनु भयो । तिमी अझैसम्म रोइरहेकी थियौ । कारण तिमी धेरै भोकाएकी थियौ, तर मेरो अप्रेशन त्यसमा पनि मलाई नसाबाट सलाइन चढाइएको थियो । मुखबाट केहीले खान दिएको थिएन र मेरो दूध आउँदैन थियो । म सुत्केरी कम बिमारी ज्याँदा थिएँ त्यतिबेला । म आफै उठ्न सक्ने अवस्थामा पटक्कै थिइनँ । शरीर पुरै कमजोर र शिथिल थियो । मलाई उठाउन दुइजनाको सहारा चाहिन्थ्यो । छोरी तिमी रुँदा म र मेरी आमा सँगसँगै रुन्थ्यौ । कारण कस्तो कमजोर आमाको काखमा जन्म लियौ छोरी, संन्तानका लागि तड्पिएकी आमा जो सन्तान भोकले छट्पटाउँदा काखमा लिएर आफनो दूध चुसाउने सामाथ्र्य राख्दिन वा चाहेर पनि सक्दिन ।

छोरी, जतिबेला म बेहोस थिए, तिमीलाई बेला–बेलामा नर्स आएर ग्लुकोजमा कपास डुबाउँदै तिम्रो मुखमा चार थोपा राख्दै गएका रे ! अनि जब म होसमा आएँ तब पनि तिमी भोकले चिच्याएर रोयौं, तर म बिबस आमा तिमीसँग रुन बाहेक केही गर्न सकिनँ ।

Comments

comments