प्रधानमन्त्रीलाई गगनकाे प्रश्न : डा केसीका कुनै माग जनहित विपरीत छन् ?

समाचार

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभएकाे छ । नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सोध्नुभएकाे छ, डा गोविन्द केसीका कुन माग जनहित विपरीत छन् ?

थापा लेख्नुहुन्छ- प्रधानमन्त्रीज्यू, डा गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?

उहाँले विगतमा प्रधानमन्त्री आफैँले गरेका वाचा पूरा नगर्दा यो अवस्था आएको बताएका छन् ।

थापाकाे प्रश्न छ, ‘ डा केसीसँग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ ?’

जायज मागका लागि आफ्नो समर्थन रहने भन्दै उहाँले भन्नुभयाे,  ‘पूरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ । तर, एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ ।’

‘प्रमज्यू, ख्याल राख्नुहोला, यदि डा केसीको जीवन तल-माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईं हो।’, थापाले फेसबुकमार्फत प्रधानमन्त्रीलाई भन्नुभयाे ।