विजयकुमार महर्जन
सामुदायिक सेवा केन्द्र, फर्पिङको आवश्यकताका बारे विजयकुमार महर्जनको आफ्नो विचार
फागुन १६, काठमाडौं । फ्ल्यास् खबर
काठमाडौं जिल्ला अन्तर्गत दक्षिणकाली नगरपालिका भौगोलिक, शैक्षिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक र पर्यटकीय रूपमा परिचित नगरपालिका हो । देशकै मध्यभागमा अवस्थित काठमाडौं जिल्लाको प्रदुषित वातावरणबाट केही टाढा अनि हेटौंडा पुग्ने छोटो दुरीको मार्ग समेत यही नगरपालिका फर्पिङ बजार भएरै जाने गर्दछ । समाजले फड्को मार्ने र विकास तथा परिवर्तन संगसंगै भित्रिएका विकृति, विसंगति, अशान्ति र अपराधजन्य गतिविधिहरुमा पनि वृद्धि भईरहेको पाइन्छ । यस स्थानको ऐतिहासिक महत्त्व र वर्तमानमा यसले बोकेको प्रचुर सम्भावनालाई जोगाई सभ्य, सुरक्षित र विकसित रूपमा हेर्नको लागि गरिएका राष्ट्रिय एवम् स्थानीय प्रयासहरुलाई आफ्नो तर्फबाट पनि केही योगदान पुर्याउने उद्देश्यबाट वर्तमान ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्री चन्द्रबहादुर के.सी.बाट यस सामुदायिक सेवा केन्द्र, फर्पिङको अवधारणाको विकास गरी मिति २०७२ साल बैशाख ७ गतेका दिन कार्यसमिति गठन भएको हो । साथै विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा दर्ता गर्ने उद्देश्यले यसको विधान निर्माण कार्य भईरहेको छ । राज्यले नेपाल प्रहरीलाई समाजमा शान्ति सुरक्षा कायम राख्नु र अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने मूल दायित्व सुम्पेको छ । नेपाल प्रहरी संगठन स्थापना २०१२ सालमा भए यता नेपाल प्रहरीले आफ्नो जिम्मेवार निर्वाह गर्दै आईरहँदा पनि समाजमा बढ्दै गईरहेको अशान्ति, असुरक्षा र अमानवीय गतिविधिहरुको चुनौतिको सामना र यसको रोकथाम प्रहरी एक्लैको एक्लो प्रयासबाट हुन सक्तैन भन्ने कुरा नेपालको विगत र वर्तमानका घटनाक्रमहरुबाटै प्रष्ट भईसकेको छ ।
जनताको समर्थन र सहयोग विना प्रहरी एक्लैले समाजमा शान्ति सुरक्षा कायम गर्न नसकिरहेको अवस्था एकातिर छ भने अर्को तिर शान्ति विना विकासको सम्भावना नै छैन । विकास विना जनताले परिवर्तनको प्रत्याभूति गर्न नसक्दा, हुन सक्ने असजिलो अवस्थालाई समेत ध्यानमा राखी प्रहरी कार्यशैलीमा परिवर्तन गर्न आवश्यक भई प्रहरी सेवामा गरिएको विशिष्टीकरणको पछिल्लो प्रभावकारी अवधारणा नै सामुदायिक सेवा हो ।
सामुदायिक सेवाको अवधारणा सर्वप्रथम सन् १८२९ मा वेलायतका तत्कालिन प्रहरी प्रमुख Sir Robert Peel द्वारा अघि सारिएको यस अवधारणा बेलायतमा मात्र सीमित नभई विश्वका विकसीत एवम् विकासोन्मुख देशहरुमा विभिन्न नामबाट अभ्यासमा ल्याई सुरक्षा र विकासका दृष्टिकोणबाट सफलता हासिल गरेको पाइन्छ ।
नेपालमा प्रथम पटक तत्कालिन प्रहरी प्रमुख श्री दिलबहादुर लामाको कार्यकालमा छिमेकी प्रहरीको रुपमा घरदैलो कार्यक्रमले पूर्ण सफलता प्राप्त गर्न नसके पनि नेपाल प्रहरीको कार्यशैलीमा यसले नयाँ आयाम थप्ने काम गरेको छ । देश राजनैतिक परिवर्तनको मोडमा भएकाले केही समय सुस्त रहेको यही अवधारणा पुनः २०५१ सालमा काठमाण्डौको महाराजगञ्जबाट Police Pilot Project (प्रहरी गुरु योजना) को रुपमा अघि बढेको हाल झण्डै देशव्यापी रुपमा यसले प्रहरी र जनता बीच साझेदारीता कायम गर्दै जनसमर्थन र जनविश्वास जित्दै गईरहेको छ । “जनताको लागि जनताकै सहभागितामा सञ्चालन हुने प्रहरी कार्य शैली नै सामुदायिक सेवा हो” । प्रहरीको कार्य क्षेत्र समाज हो । प्रहरी र जनसमुदाय बीच बढ्दो अविश्वासको दूरीलाई विस्तारै कम गरी एक अर्काको सहयोगीको रुपमा परिचित गराउने महत्त्वपूर्ण हेतु भनेकै सामुदायिक सेवा केन्द्र हो । देशमा शान्ति सुरक्षा एवम् विकास निर्माण गर्ने कार्यको मेरुदण्ड भनेकै समुदाय हो । यस संस्थामा सामाजिक सेवाको क्षेत्रलाई आफ्नो कर्म क्षेत्र बनाएर विचलित नभई निरन्तर रुपमा निस्वार्थ भावले लागिरहने व्यक्तिको नेतृत्व तथा आवद्धताले संस्थाको नाम र प्रतिष्ठा (Name and Fame) अवश्य बढाउनेछ ।
लामो समयसम्मको निरन्तर प्रयासपछि दक्षिणकाली नगरपालिका अन्तर्गत भर्खरै गठन भएको सामुदायिक सेवा केन्द्रले आसपासका क्षेत्रभित्रका चोरी लुटपाट, सार्वजनिक स्थल संरक्षण र लागू औषध दूर्व्यसनी, देहव्यापार तथा यौन विकृतिलाई कम गर्ने कार्य गर्नेछ । स्थानीय टोल विकास संस्था र राजनैतिक दलका प्रतिनिधीहरुको समर्थन र सहयोगमा दक्षिणकाली नगरपालिकामा गठन भएको यो केन्द्रले मन, बचन र कर्मले सेवा गर्न निस्वार्थ उद्देश्यबाट देशले हाल झेलिरहेको कठिन अवस्थामा नेपाल प्रहरीसंग सहकार्य गरी कार्य गर्दै जानेछ र यस केन्द्रले जनताको मन जित्न, समर्थन र सहयोग पाउन अवश्य सफल हुनेछ । सामुदायिक सेवा केन्द्रका सल्लाहकारज्यूहरु, पदाधिकारीहरु, साधारण सदस्यहरुको आत्मबल, सम्पूर्ण समाजसेवी, स्थानीयबासी, व्यापारी, उद्योगपतिहरु तथा संघसंस्थाबाट प्राप्त आश्वासन एवम् सद्भावबाट सम्पन्न हुन सक्ने कुरामा हामी विश्वस्त रहेका छौं ।