कोरोनामुक्त ३३ जनाद्वारा प्लाज्मा दान, कोरोनाका बिरामीलाई उपयाेगी

स्वास्थ्य

पूर्वी नवलपरासी । पूर्वी नवलपरासी जिल्लामा पहिलो पटक सोमबार कोरोना संक्रमणमुक्त भएकाहरुले रगत दान गरेका छन् ।

कोरोना संक्रमणबाट मुक्त भएका ३३ जनाले एउटै थलोमा रक्तदान गरे ।

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन जिल्ला समितिको आयोजना भएको कार्यक्रममा ३ महिलासहित ३३ जनाले प्लाज्मा दान गरेका हुन् ।

कोराना लागेर निको भएकाले दिएको रगतबाट प्लाज्मा निकालेर जटिल लक्षणसहितका कोरोनाका बिरामीलाई बचाउन सघाउ पुग्ने अभियान स्वरुप प्लाज्मा दान अभियान चलाएको आयोजकले जनाएको छ ।

भारत र अमेरिकामा यस्तो रक्तदान गरिँदै आएपनि समुदायमा एकै पटक यति धेरै कोरोना संक्रमणवाट निको भएकाले एकै पटक दान गरेको यो पहिलो पटक हो ।

कम्तीमा एउटा रक्त समूहका ५ जना सदस्यको यस्तो रगत राख्दा जोखिममा परेका कोरोना संक्रमित (लक्षण देखिएका) लाई बचाउन सहयोग पुग्ने स्वाथ्यकर्मीहरु बताउछन् ।

कोरोना संक्रमणमा परेका तर शरीरले प्रतिरोध क्षमता बढाउन नसक्ने (एन्टीबडी उत्पादन) अवस्थाका कोरोना संक्रमितलाई प्लाज्मा दिएर रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाइने रक्तदानमा सहजीकरण गर्नु भएका डा गंगा सापकोटाले बताउनुभयो ।

एउटा व्यक्तिबाट निकालिने ३ सय ५० देखि ६ सय एमएल रगत मेसिनमा राखेर छुट्याउँदा त्यसको ५० देखि ६० प्रतिशत प्लाज्मा काम लाग्ने हुन्छ ।

रक्तदानबाट निकालिएको रगत प्रयोगशालाको मेसिनमा राखेपछि तरल पदार्थ र रक्तकोषहरु छुट्याउने गर्दछ ।