दक्षिणकाली नगरपालिकाको दोश्रो स्थापना दिवस (राज्य पुनर्संरचना पश्चात) :
फागुन १६, काठमाडौं । फ्ल्यास् खबर
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ बमोजिम नेपाल सरकारले निश्चित मापदण्ड पुरा भएका स्थानहरुलाई नगरपालिका घोषणा गर्न सक्ने प्रावधान छ । यसै अनुरुप मिति २०७१।०८।१६ गते नेपाल भरीका विभिन्न ६१ नगरपालिकालाई नेपाल सरकार, मन्त्रि परिषद्को निर्णय बमोजिम नगरपालिका घोषणा गरिएको थियो । ६१ वटा नगरपालिकामा दक्षिणकाली नगरपालिकाको समेत घोषणा भएको हो । साविकका चाल्नाखेल, सेतिदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गा.वि.स.लाई समेटेर यस नगरपालिकाको स्थापना भएको हो ।१५ वटा वडामा विभाजन गरी नगरपालिका घोषणा गरिएको हो ।
राज्य पुनर्संरचनाको क्रममा मिति २०७३।११।२१ गतेको निर्णयानुसार ७४४ स्थानीय तहको घोषणासँगै मिति २०७३।११।२७ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम दक्षिणकाली नगरपालिकाको साविकका १५ वटा वडा हेरफेर भई ९ वटा वडा कायम गरिएको हो । राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार यस नगरपालिकालाई कीर्तिपुर नगरपालिकासँग गाभिने गरी प्रतिवेदन पेश भएको थियो तर स्थानीय राजनैतिक पाटी प्रतिनिधिहरुको पहलमा मन्त्रि परिषद्बाट दक्षिणकाली नगरपालिकालाई यथावत कायम गरेको हो । हाल स्थानीय तहको संख्या ७५३ पुगेको छ ।
काठमाडौं जिल्लाको दक्षिण क्षेत्रमा रहेको दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पर्यटकीय स्थलका रुपमा परिचित रहेको छ । पूर्वमा ललितपुर जिल्ला, पश्चिममा मकवानपुर जिल्ला, उत्तरमा कीर्तिपुर, चन्द्रागिरी नगरपालिका र दक्षिणमा मकवानपुर जिल्ला रहेको छ । दक्षिणकाली नगरपालिकामा धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपिठ, धार्मिक स्थलहरु लगाएत विभिन्न मौलिक साँस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले यस क्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको छ । ऐतिहासिक महत्त्व बोकेको सांस्कृतिक सम्पदाले भरिपूर्ण साँस्कृतिको अनुपम नमूना हो दक्षिणकाली नगरपालिका । जैविक विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको साझा बसोबास यस स्थानमा रहेको पाईन्छ । । एशियाकै दोश्रो तथा नेपालको प्रथम जलविधुत आयोजना चन्द्रज्योति जलविधुत गृह यस नगरपालिका वडा नं. ३ मा अवस्थित रहेको छ । यस नगरपालिका धार्मिक, पर्यटकीय तथा आर्थिक रुपले आफैमा आमनिर्भर रहन प्रचुर सम्भावना बोकेको छ । सांस्कृतिक रुपमा मनाइने श्री हरिशंकर जात्रा तथा बज्रयोगिनी जात्रा यस नगरपालिकको प्रमुख पर्वहरुमा पर्दछन् ।
हिन्दुहरुको शक्तिपिठ दक्षिणकाली मन्दिर, गोपालेश्वर मन्दिर, शेषनारायण मन्दिर बौद्धमार्गीहरुका लागि पद्मशम्मभवले तपस्या गरेको असुरा गुफा तथा ह्याङलासी गुम्बा काठमाडौं जिल्लाकै सबै भन्दा अग्लो वाणासुर डाँडा (२२७८ मि), पञ्जल गणेश, कटुवाल दह, पर्यटनको विकासका लागि चाल्नाखेलको बोसन डाँडा, हात्तिवन डाँडा, छैमलेको जातीपोखरी, सेतिदेवी मन्दिर, बज्रयोगिनी तथा गोरखनाथ मन्दिर, उषामैयाँको दरबार, पौराणिक फर्पिङको नेवारी बस्ती, झम्केश्वरी मन्दिर आदि क्षेत्रमा रहेका छन् ।
मिति २०७४ बैशाख ३१ गतेको स्थानीय तहको चुनाव पछि नगरपालिकामा जनप्रतिनिधिहरुको बहाली भयो । नगरपालिकाका पदाधिकारीहरुको आगमनसँगै नगरपालिका क्रमिक विकासको बाटोमा लम्किएको छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा तथा पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ । जेष्ठ नागरिकहरुलाई नि:शुल्क उपचारको लागि स्वास्थ्य शिविर संचालन भएको, उद्योगी तथा व्यवसायीहरुलाई आमन्त्रण गरी सम्भाव्यता अध्ययन गरेको छ । १ देखि ९ सम्म वडाहरुलाई भौगोलिक तथा जनसंख्याको आधारमा रु. ८५ लाख देखि रु. १ करोड १५ लाख सम्म वडा स्तरीय बजेट विनियोजन गरेको तथा ठूल्ठूला योजनाहरु नगर स्तरीय योजनाबाट संचालन भई आएको छ । राजश्व संकलनमा ठेक्का लगाई प्राकृतिक श्रोतको निकासी शुल्क तथा पर्यटक प्रवेश शुल्क उठाई राजश्व संकलनमा बृद्धि भएको हो । चालु आ.व. २०७५/०७६ मा रु. ४२ करोड ७८ लाख ६५ हजार आय अनुमान गरिएको छ । चालु आ.व.को बजेट नीति तथा कार्यक्रममा आर्थिक विकास, राजश्व संकलन तथा उद्योग वाणिज्य, संस्कृति सम्पदा तथा पर्यटन प्रवर्द्धन, सहकारी तथा गरिबी निवारण, सार्वजनिक निजी साझेदारी, भवन तथा सहरी विकास, सूचना तथा सञ्चार, वातावरण तथा विपद् व्यवस्थापन, न्याय कानून तथा मानव अधिकार प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रमहरु प्राथमिकताका साथ तय भएको पाईन्छ ।