दक्षिणकाली नगरपालिकामा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रजनन अङ्गको प्रोल्याप्स् (आङ खस्ने) तथा फिस्टुला जस्ता जटिल समस्याको निःशुल्क स्क्रिनिङ्गसहित विशेष स्वास्थ्य शिविर आयोजना हुने भएको छ। शिविरमा महिला रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) सहितको स्वास्थ्य टोलीबाट परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ।
पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर नेपालमा महिलामाझ तीव्र रूपमा बढ्दो समस्याका रूपमा देखिएका छन्। प्रारम्भिक चरणमै परीक्षण (स्क्रिनिङ्ग) गरेमा यी रोगहरू निको पार्न सकिने चिकित्सकहरू बताउँछन्। त्यस्तै, आङ खस्ने र फिस्टुलाजस्ता समस्याले महिलाको दैनिक जीवन, आत्मविश्वास र सामाजिक सहभागितामा गम्भीर असर पार्ने भएकाले समयमै पहिचान र उपचार अत्यावश्यक हुन्छ।
शिविरमा निम्न सेवाहरू उपलब्ध हुनेछन्:
- पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग (VIA/Pap smear आवश्यकताअनुसार)
- स्तन क्यान्सर जाँच तथा स्व–जाँचबारे परामर्श
- प्रजनन अङ्गको प्रोल्याप्स् (आङ खस्ने) परीक्षण
- फिस्टुला सम्बन्धी जाँच र विशेषज्ञ परामर्श
- आवश्यक परे थप उपचार/रेफरलको व्यवस्था
स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचनाः

स्वास्थ्यकर्मीका अनुसार क्यान्सर र प्रजनन अङ्गसम्बन्धी धेरै रोगहरू लाज वा जानकारीको अभावका कारण ढिलो पत्ता लाग्ने गर्छन्। नियमित परीक्षणले रोगको प्रारम्भिक अवस्था पहिचान गर्न सहयोग पुग्ने भएकाले महिलाहरूले यस्तो अवसरको भरपूर उपयोग गर्नुपर्नेमा जोड दिइएको छ।
दक्षिणकाली नगरपालिकाले सबै वडाका महिलाहरूलाई शिविरमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गरेको छ। आफ्नो स्वास्थ्यबारे सचेत हुनु परिवार र समाजप्रतिको जिम्मेवारी पनि भएकाले, लक्षण नदेखिए पनि स्क्रिनिङ्ग गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।
महिलाको स्वास्थ्य सुरक्षित भए मात्रै परिवार र समुदाय स्वस्थ रहन्छ। त्यसैले दक्षिणकालीका महिलाहरूले यो अवसर नगुमाई निःशुल्क स्वास्थ्य शिविरको सेवा लिन नगरपालिका आग्रह गर्दछ।