काठमाडौं । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको देखिएको बताउनुभएकाे छ ।
आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको बताउनुभएकाे हाे ।
काठमाडौं धेरै हिसाबले देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने जिल्ला वा राजधानी शहर हो । हरेक राजनीतिक परिवर्तनमा सामाजिक पविर्तनहरुमा यसले त्यही भूमिका खेलेकोछ । तर कता कता महामारीविरुद्धको लडाईंमा काठमाडौं पछाडि परेको जस्तो देखिँदैछ ।’ , पत्रकार सम्मेलनमा उहाँले भन्नुभयाे ।
कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय नभए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको मन्त्री ज्ञवालीकाे भनाइ छ ।
४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै उहाँले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने संकेत गर्नुभयाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले समेत अस्पतालहरुमा बेड अभाव हुन थालिसकेकाे र अब पनि यस्तै दरमा संक्रमित देखिए उपचार व्यवस्थापनमा ठुलो चुनौती थपिने बताइसकेकाे छ ।
कोरोना महामारीलाई हल्का ढंगले लिन नहुने पनि उहाँकाे जिकिर छ ।