काठमाडौं । सरकारले यहि असोज १ गतेदेखि बागमतीका सवारीलाई दर्ता, नवीकरण र नामसारी गर्न आउन इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको हो।
हाल सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत अनुगमन गर्न लागू गरिएको इम्बोस्ड नम्बर प्लेट वितरण प्रभावकारी हुन सकेको छैन । २०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम छ ।
विभागका प्राविधिक निर्देशक रामशरण पौडेलले भने, “यो २०७७ साल साउनदेखि सुचारु गरिको हो । कोरोना महामारीका कारण अनिवार्य गरिएको छैन । अनिवार्य नगर्दासम्म यसको प्रभावकारी देखिएको छैन ।”
उनका अनुसार विभागले आगामी असोजदेखि अनिवार्य गर्ने योजना बनाएको छ । असोजदेखि बागमतीका सवारीलाई दर्ता, नवीकरण र नामसारी गर्न आउन इम्बोस्ट नम्बर प्लेट अनिवार्य गरिँदै छ । हालसालै विभागले सम्झौताको म्याद थप गरेको छ।
विभागले गत २०७४ साल भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । तर सर्वोच्च अदालतले २०७४ फागुन १० गते सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो ।
सोही रिटलाई २०७५ मङ्सिर २७ गते सर्वोच्चले खारेज गरेपछि विभागलाई बाटो खुलेको थियो ।