दाेलखा । सामाजिक वहिस्कार गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागारमा थुनामा पठाइएको हो ।
सामाजिक वहिस्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका ६ मध्ये ५ जना कारागार चलान भएका छन् भने प्रेमबहादुर गुरुङलाई ३ लाख धरौटी तोकिएको छ । उनीहरूलाई प्रहरीले असोज ७ गते आफ्नै घरबाट पक्राउ गरेको थियो ।
पक्राउ परेक उनीहरू विगु गाउँपालिका–५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्सा बोक्सीको आरोप लगाउँदै सामाजिक वहिस्कार गरेको थियो । स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक वहिस्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दुर्व्यवहार गरेको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये ८ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको बताइएको छ ।