काठमाडौं, दक्षिणकाली — दक्षिणकाली नगरपालिकाले सार्वजनिक यातायात व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने तथा यात्रुहरुलाइ सहज होस भन्ने उद्देश्यका साथ सार्वजनिक बसहरूमा GPS डिभाइस जडान गरी लाइभ ट्र्याकिङ सेवा सुरु गरेको छ। यस प्रणाली लागू भएसँगै अब स्थानीय बासिन्दा तथा यात्रुहरूले आफ्नो मोबाइलबाट बसको वास्तविक समयको स्थान, आगमन समय र रुट सम्बन्धी जानकारी सहजै प्राप्त गर्न सक्नेछन्।
कसरी प्रयोग गर्ने?
यात्रुहरुले एप स्टोर अथया प्ले स्टोरमा गई TravelNepal+ एप आफ्नो मोबाइलमा इन्स्टल गरी उक्त एपको “City Bus Finder” फिचर प्रयोग गरेर यात्रुहरूले नजिकको बस बिसौनीमा कति नम्बरको बस कति टाढा बाट आउदै गरेको छ र अन्दाजी कति समयमा आइपुग्छ भन्ने जानकारी तुरुन्तै पाउन सक्छन्।
तल दिइएको क्युआर स्क्यान गरी एफ डाउलोड गर्न सक्नुहुनेछ ।

यसले लामो समय बस कुर्नुपर्ने समस्या घटाउनुका साथै दैनिक आवतजावतलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। यो सेवा GPS-आधारित ट्र्याकिङ प्रणालीमा आधारित रहेको छ, जसले बसहरूको गति, रुट र सञ्चालन अवस्थाबारे जान्न सहयोग पुर्याउँछ। यसमार्फत यातायात व्यवस्थापनमा पारदर्शिता बढ्नुका साथै चालकको अनुशासन कायम गर्न र यात्रु सुरक्षामा सुधार ल्याउन मद्दत पुग्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सार्वजनिक यातायातमा मात्र सीमित नराखी यस एपमार्फत पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने लक्ष्य राखेको छ। TravelNepal+ एपले यात्रुलाई नजिकका पर्यटकीय स्थल, यात्रा मार्ग तथा आवश्यक सूचनाहरू उपलब्ध गराउँदै स्थानीय तथा विदेशी पर्यटकका लागि समेत उपयोगी प्लेटफर्मको रूपमा विकास हुने अपेक्षा गरिएको छ।
यस प्रणालीले फ्लीट म्यानेजमेन्टलाई समेत प्रभावकारी बनाउने विश्वास गरिएको छ। बसहरूको रुट हिस्ट्री, यात्रा विवरण, गति तथा सञ्चालन डेटा विश्लेषण गर्न सकिने भएकाले सेवा सुधार, इन्धन बचत र समग्र सञ्चालन दक्षता बढ्ने बताइएको छ।

“स्मार्ट दक्षिणकाली” अभियानअन्तर्गत सुरु गरिएको यस पहललाई स्थानीय बासिन्दाले सकारात्मक रूपमा लिएका छन्। उनीहरूले प्रविधिको प्रयोगले दैनिक जीवन सहज बनाउने विश्वास व्यक्त गरेका छन्। यद्यपि, सेवाको दीर्घकालीन प्रभावकारिताका लागि नियमित प्राविधिक मर्मत, अनुगमन र प्रयोगकर्ता सचेतनामा ध्यान दिनुपर्ने सुझाव पनि आएका छन्।
नगरपालिकाले आगामी दिनमा थप सार्वजनिक सेवाहरूलाई समेत डिजिटल माध्यमबाट विस्तार गर्ने योजना अघि सारेको छ।