काठमाडौं। दक्षिणकाली नगरपालिकाले युवालाई स्वरोजगारमुखी तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सूचना प्रविधि आईटी सम्बन्धी तालिम सुरू गरेको छ। जेनिस सोलुसन प्रालिसँगको सहकार्यमा शुक्रवार नगरपालिकाको हलमा तालिमको समुद्घाटन गरिएको छ । तालिमको उद्घाटन सत्रमा मेयर मोहन बस्नेत, उपमेयर बसन्ती डंगोल तामाङ, प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले, शिक्षा शाखा प्रमुख लक्ष्मण दाहाल, शाखा अधिकृत गिरीराज खनाल लगायत जेनिस सोलुसनका उपाध्यक्ष अमित जोशी तथा प्रशिक्षार्थीहरुको उल्लेख्य सहभागीता थियो ।

नगरपालिकाले स्थानीय युवाहरूलाई स्वरोजगारीतर्फ उन्मुख गराउने र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले व्यवहारिक तथा रोजगारमुखी आईटी तालिम तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न गइरहेको हो। उक्त कार्यक्रम मार्फत नगरपालिकाले युवाहरूलाई आधुनिक डिजिटल प्रविधिमा दक्ष बनाउँदै आत्मनिर्भर बनाउने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रमको पहिलो चरणमा अनलाइन मार्फत फारम भरेका सहभागीहरुलाई १० दिने डिजिटल साक्षरता तालिम प्रदान गरिने छ। जसमा आधारभूत आईटी ज्ञान र डिजिटल कार्यक्षमतामा सुधार गर्नेछ। उक्त १० दिनमा देखिएको लगनशिलता, क्षमता र कार्यसम्पादनका आधारमा छनौट भएका सहभागिहरुलाइ दोस्रो चरणमा अन्तर्गत तीन महिनाको “टेक इन्डस्ट्री रेडिनेस” कार्यक्रममा समावेश गरिने छ । यस चरणमा सफ्टवेयर, डिजिटल सेवा, अनलाइन प्लेटफर्म, फ्रिलान्सिङ तथा स्टार्ट अपसम्बन्धी व्यावहारिक सीप प्रदान गरिने नगरपालिकाले जनाएको छ । तालिम सफलतापूर्वक सम्पन्न गरेका उत्कृष्ट सहभागीलाई प्रतिष्ठित टेक कम्पनीमार्फत इन्टर्नसिप तथा रोजगारी अवसर उपलब्ध गराइने नगरपालिकाले जानकारी दिएको छ ।