जननेत्र पुस्तकालयको ५३ औं स्थापना दिवस :
फागुन १५, काठमाडौं । फ्ल्यास् खबर
शिक्षा र सञ्चारको अभावको समयमा शैक्षिक ज्ञान तथा सूचना प्रदान गर्ने उद्देश्यले स्व. श्री रामहरी मानन्धरद्वारा वि.स. २०२२ सालमा स्थापित हाल दक्षिणकाली न.पा. वडा नं. ६ मा अवस्थित जननेत्र पुस्तकालयको ५३ औं स्थापना दिवसको अवसर पारी विभिन्न प्रतियोगिताहरु संचालन गरी विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम – २०७५ सम्पन्न भएको हो । दक्षिणकाली नगरपालिका, ६ नं. वडा कार्यालयले पुस्तकालयलाई प्रदान गरिएको आर्थिक सहयोगबाट वडा स्तरीय टेवल टेनिस प्रतियोगिता र अन्तर विद्यालय चित्रकला प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार स्वरुप ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा कराते खेल मार्फत नेपाललाई विश्व सामु चिनाउने छात्र वान्छुक तामाङ र दिनेश तम्राकारलाई पनि सम्मान स्वरुप कदर पत्र दिइएको छ । प्रमुख अतिथिका रूपमा ३ नं. प्रदेश सभा सदस्य माननीय पुकार महर्जन, विशिष्ट अतिथिमा नगर प्रमुख श्री मोहन बस्नेत र विशेष अतिथिमा नगर उपप्रमुख श्री बसन्ती तामाङ (डंगोल)ले पुस्तकालयलाई ३ नं. प्रदेश र नगरपालिकाको तर्फबाट आवश्यक सहयोग दिने बताएका छन् । सो कार्यक्रममा ९ नं. वडाका कार्यबहाक वडा अध्यक्ष श्री विक्रम तामाङ, ६ नं. वडाका वडा अध्यक्ष श्री शंकर मान महर्जन, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा समाजसेवीको उपस्थिति रहेको थियो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष श्री शैलेश मान मानन्धरले पनि पाएका सम्पूर्ण सहयोग र श्रोतको पूर्ण सदुपयोग गरी पुस्तकालयलाई दिगो, समयानुकुल, आधुनिक र ९ वटै वडामा नै स्थापना गर्ने प्रयास गर्ने बताएका छन् ।