त्रिभुवन आदर्श मा.वि.को ६८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न :
फागुन २१, काठमाडौं । फ्ल्यास् खबर
कठोर राणा शासनको अन्त्य र नेपालमा प्रजातन्त्रको लहर आएपछि प्रजातन्त्रले मात्र हुँदैन, जनता शिक्षीत पनि हुनुपर्छ भन्ने उद्देश्यका साथ सत्यनारायण बहादुर श्रेष्ठद्वारा मिति २००८ साल आस्विन ७ गते नेपालकै पहिलो बोर्डिङ स्कुलको रूपमा त्रिभुवन आदर्श मा.वि.को स्थापना गरिएको हो।आफूले पाएको मन्त्रीको पद त्यागी त्यसको सट्टा प्राचीन फम्पी स्थित राजा त्रिभुवनको समर प्यालेसलाई स्कुल बनाई शिक्षाको लहर फैलाउने निर्णय गरेका हुन् । नेपाली शिक्षा क्षेत्रमा पहिलो स्तम्भको रुपमा रहेको यस विद्यालयले यहि २०७५ साल फागुनमा आफ्नो ६८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिबाट आफ्नो मन्तव्य वाचन, स्थानीय सांगीतिक कला तथा विद्यार्थीको कला प्रदर्शन गरिनुका साथै स्कुलका विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको छ । कक्षा ८ बाट सुरुवात गरी पहिलो एस.एल.सी. परीक्षा वि.स. २०११ सालमा समावेश गरेको यस विद्यालयले अहिले कक्षा नर्सरी देखि कक्षा १२ सम्म संचालन गर्दै आएको छ र अर्को वर्ष मन्टेश्वरी पनि खोल्ने भएको छ । उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि ३ नं. प्रदेशका माननीय पुकार महर्जन लगायत अन्य सम्पूर्ण अतिथिज्यूहरुले विद्यालयको प्रगतिको कामना गर्दै स्कुलमा भएको स्रोत र साधनको उपयोग गरी विद्यालयको स्तर बढाउन पर्ने कुरामा जोड दिएका थिए । विद्यालयको स्तर वृद्धिमा पनि आवश्यक सहयोग गर्न तयार रहेको कुरा पनि सम्पूर्ण अतिथीज्यूहरुले बताउनु भएको हो । स्वयं विद्यालयका नवनियुक्त प्रधानाध्यापक नवीन अमात्य र उप प्रधानाध्यापक राम बहदुर बस्नेत पनि विद्यालयको स्तर घटेको कुरा स्वीकार गर्दै विद्यालयका सम्पूर्ण स्रोतको सदुपयोग गरी विद्यालयलाई आधुनिक, स्तरीय बनाउने क्रममा अग्रसर भइसकेको कुरा बताउनु हुन्छ ।
फोटो : निरोज श्रेष्ठ