फर्पिङ दरबार जीर्ण (गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित)
फागुन २६, काठमाडौं ।
तत्कालीन राजकुमार बहादुर शाहलाई नजरबन्दमा राखिएको फर्पिङ दरबार जीर्ण बनेको छ । एक एक कोठाका तीन वटै दरबारका भित्ताभरि चिरा परेका छन् । वि.सं. २०७२ को भूकम्पले गारो नै ढल्ने अवस्थामा पुगेका छ । सबैभन्दा बीचमा रहेको दरबारमा पृथ्वीनारायण शाह माहिला छोरा बहादुरलाई नजरबन्दमा राखिएको थियो ।
स्वर्गको बगैँचा नाम दिइएको फर्पिङ दरबारलाई २००८ सालसम्म तत्कालीन राजपरिबारले प्रयोग गर्ने गरेको थियो र प्रायः गर्मी मौसममा त्यो दरबारमा गई बस्ने गरेकाले तिनताक ती दरबार ‘समर प्यालेस’ कहलिन्थे । वि.सं.२००८ मा त्रिभुवन आदर्श विद्यालय स्थापना भएपछि दरबार कक्षाकोठामा रूपान्तरित भए । बहादुर शाह नजरबन्दमा परेको दरबारको त्यही कोठामा अहिले आदर्श माविका प्रधानाध्यापकको कार्यालय छ । अन्य दुई वटा दरबारमध्ये एउटालाई पुस्तकालय र अर्कोलाई शिक्षकहरूको कोठा बनाइएको छ ।
विद्यालयका प्रधानाध्यापक नवीन अमात्यले जीर्ण दरबारका कारण आफूहरू निकै भयका साथ रहनुपरेको गुनासो गर्दै थप्नुभयो, “भवन पुनःनिर्माणका लागि धेरैसँग गुहार्यौँ । कसैबाट पनि सहयोग पाउन सकिएन । विद्यालयको आम्दानीले नयाँ भवन निर्माण गर्न सकिएको छैन ।” उहाँले ३६० विद्यार्थीबाट उठ्ने शुल्क शिक्षक तथा कर्मचारीको तलबमै ठिक्क हुने जानकारी दिनुभयो ।
इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तकमा फर्पिङ दरबारमा बहादुर शाहलाई नजरबन्दमा राखिएको प्रसङ्ग उल्लेख गर्नुभएको छ । इतिहासकार प्राडा त्रिरत्न मानन्धरले बहादुर शाह धेरैपटक नजरबन्दमा परेको बताउँदै भन्नुभयो, “बहादुर शाहलाई दाइ प्रताप शाह र भाउजू राजेन्द्रलक्ष्मीले पटक पटक नजरबन्दमा राखेका थिए । फर्पिङको दरबारमा पनि नजरबन्दमा राखिएको हुनसक्दछ, तर उनको निधन परोपकार संस्था सम्मुखमा रहेको भवनमा नजरबन्दमा राखिएकै अवस्थामा भएको थियो ।”
सतीखेलका ६२ वर्षीय नरसिंहमान महर्जनले हजुरबुबाले फर्पिङ दरबारमा बहादुर शाहलाई नजरबन्दमा राखेको कुरा सुनाउने गरेको स्मरण गर्दै थप्नुभयो, “पछि यी दरबारलाई हावाखाने घर भनिन्थ्यो । राजाहरु हावा खान यहाँ आउने गरेको हजुरबुबाले सुनाउनुहुन्थ्यो । नजिकै अर्को घर पनि थियो । त्यो घरमा तत्कालीन राजाहरू मनोरन्जनका लागि आउँथे । त्यही घरमा राजा त्रिभुवन गर्भमा रहेको भनी हाम्रा हजुरबुबाहरूले सुनाउनुभएको सम्झना छ ।”
राजा त्रिभुवनका नजिकका पात्र बनेका सत्यनारायणबहादुर श्रेष्ठले डकोटा विमानबाट राणा विरोधी पर्चा छर्नुभएको थियो । राजासँगको सम्बन्धका कारण उहाँले २००८ सालमा त्रिभुवन आदर्श विद्यालय स्थापना गर्न बकस पाउनुभएको थियो । २००८ साल माघमा राजा त्रिभुवनले सो विद्यालयको उद्घाटन गर्नुभएको थियो ।
सो माविका पुराना शिक्षक ९५ वर्षीय गीर्वाणनाथ अर्यालले वैशाख शुक्ल अष्टमीमा कुलदेवता दक्षिणकालीको दर्शन गर्न आउँदा राजा त्रिभुवन यसै दरबारमा बस्ने गरेको सुनाउँदै भन्नुभयो, “फलफूलै फलफूलको बगैँचा भएकाले यसको नाम स्वर्गको बगैँचा राखिएको थियो ।”
तिनताक राजा त्रिभुवनको सुरक्षार्थ सैनिकहरुलाई कमल हलमा राखिन्थ्यो । पछि त्यसमा कक्षा सञ्चालन गरिएको थियो । अचेल त्यसलाई कार्यक्रम हलका रूपमा प्रयोग गर्ने गरिएको छ भने तत्कालीन राजा महेन्द्रका पालामा थप भवन (महेन्द्र ब्लक) निर्माण गरिएका थिए । ती भवन पनि यतिबेला जीर्ण भएर तिनमा तीनवटा कक्षाकोठामात्र प्रयोग हुँदै आएको छ । वरपर ससाना टहरा बनाइ काम चलाइएको छ भने द्वन्द्वका बेला सैनिकहरु बस्न थालेपछि आवासीय सो विद्यालयमा २०६० सालपछि आवासीय हटाइयो ।
शिक्षक अर्यालको ९५ वर्ष प्रवेशको अवसरमा शनिबार सो विद्यालयमा पुग्नुभएको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष विद्यालयले ज्ञापनपत्र बुझायो । ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो, “यहाँको सम्पत्तिलाई नेपाल ट्रष्टले विद्यालयलाई हस्तान्तरण गर्ने प्रक्रिया स्थानीय तहबाट सुरु गरोस् । हस्तान्तरण भएपछिमात्र हामी लगानी गर्न सक्छौँ ।”
विद्यालयले चर्चिएको ६८ रोपनी जग्गालाई २०५२ सालमा कसैलाई पनि पत्तै नदिई दरबारको नाममा नामसारी गरिएको थियो र सोही कारण त्यहाँको सम्पत्ति हाल नेपाल ट्रष्टको मातहतमा रहेको छ । सार्वजनिक शैक्षिक गुठीमा रहेको सो विद्यालयलाई २०३७ सालबाट सरकारले अनुदान दिन छाडेको छ । सो विद्यालयको विभिन्न कक्षा भवन निर्माण गर्न राजा त्रिभुवनले १० हजार रुपियाँ प्रदान गर्नुभएको थियो भने राजपरिवारका साथै काठमाडौँका साहुले पनि एक सयदेखि ३५० रुपियाँसम्म दिएको त्यहाँ रहेको शीलालेखमा उल्लेख छ ।
विद्यालयको स्थापनाकालमा बाहिरबाट शिक्षक झिकाइएका थिए र उनीहरूलाई बस्नका लागि निर्माण गरिएको भवन अहिले पनि छ । सत्यनारायणबहादुरपछि भारतमा रहनुभएका धरणीधर कोइरालालाई झिकाएर प्रधानाध्यापकको जिम्मेवारी दिइएको थियो ।
मिति २०७५ फागुन २६ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाबाट लिईएको ।