स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रम
जेष्ठ १४ काठमाडौं । फ्ल्यास खबर
लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो । मुलुक संघीय संरचनामा गए सँगै आयोगले संघीय संरचना अनुरूपको पाठ्यक्रम बनाई लागू गरेको हो । आयोगले पहिले भएका पाठ्यक्रममा परिमार्जन सहितको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ । आयोगले स्थानीय तहमा आवश्यक पदपूर्तिका लागि आवश्यकताअनुरूप यस अघि केन्द्रीय संरचना अनुरूपको पाठ्यक्रम तयार पार्ने गरेकोमा हाल त्यसलाई परिमार्जन गरी विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पाठ्यक्रम तयार पारेको हो ।
आयोगले प्रत्येक पदका लागि अलगअलग पाठ्यक्रम रहेको जानकारी गराएको छ । आयोगले भोलि बुधबार ८ हजार भन्दा बढी नयाँ कर्मचारी भर्नाको तयारी खुलाउने गरी सोका लागि आवश्यक पाठ्यक्रम तयार पारेको हो । स्थानीय तहले १४ हजार ५ सय कर्मचारी आवश्यक रहेको विवरण पठाएको भएता पनि तत्काल ८ हजार बढीको संख्यामा भर्ना आह्वान गरिने र बाँकीको व्यवस्थापन क्रमशः बढुवा, आन्तरिक प्रतिस्पर्धा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पूर्ति गर्दै जाने योजना रहेको छ । कर्मचारी समायोजनपछि केन्द्र, प्रदेश र स्थानीय तहमा ३२ हजार कर्मचारी माग रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकले देखाउँछ । बाँकी भने प्रक्रियामा रहेको प्रदेश लोकसेवा आयोग गठन गरेर गरिने बताइएको छ ।