एउटा मानिसले मेलामा गुब्बराहरू बेच्ने काम गर्थ्यो । त्यो संग रातो, पहेंलो, नीलो, हरियो र थप अनेकों रंगका गुब्बराहरू थिए । जब उसको बिक्री घट्न थाल्थ्यो, ऊ हीलियम ग्यासले भरिएको एउटा गुब्बरालाई हावामा उडाउँथ्यो ।
बच्चाहरूले जब त्यो उड़ीरहेको गुब्बरालाई हेर्थे, तिनीहरू उस्तै गुब्बरा पाउन उत्सुक हुन्थे । तिनीहरू ऊ कहाँ गुब्बराहरू किन्नको लागि पुग्थे र उसको बिक्री फेरि बढ्न थाल्थ्यो । जब त्यो व्यक्तिको बिक्री घट्न थाल्थ्यो, उसले बिक्री बढाउन गुब्बराहरू उडाउने यस विधिको प्रयोग गर्ने गर्थ्यो । एक दिन गुब्बरा बिक्री गर्ने त्यस मानिसले महसुस गर्यो कि कसैले त्यसको जकेट तानी रहेको छ । पछाडि फर्केर हेर्दा एउटा बच्चा त्यहाँ उभिरहेको थियो । बच्चाले गुब्बरा बिक्रेतालाई सोध्यो, “यदि तपाईंले कालो गुब्बरा हावामा छोड्नुभयो भने, के त्यो पनि उड्नेछ ?” बच्चाको यो प्रश्नले गुब्बरा बिक्रेताको मन छोयो । बच्चातिर फर्केर गुब्बरा विक्रेताले जवाफ दिए, “बाबू, गुब्बरा उसको रंगको कारणले होइन तर भित्र भएको सामानको कारणले उड़ने गर्दछ ।”
अंग्रेजी भाषामा attitude (दृष्टिकोण) सबैभन्दा महत्त्वपूर्ण शब्द हो । यसले जीवनको प्रत्येक पक्षलाई असर गर्दछ, यहाँ सम्म कि मानिसको व्यक्तिगत र व्यावसायिक जीवनलाई पनि । के कुनै मानिस राम्रो दृष्टिकोण बिना राम्रो अफिसर हुन सक्छ ? के विद्यार्थी राम्रो दृष्टिकोण बिना राम्रो विद्यार्थी बन्न सक्छ ? के आमाबाबु, शिक्षक, विक्रेता, मालिक वा कर्मचारीहरूले राम्रो दृष्टिकोण बिना आ-आफ्नो चरित्र (role) को भूमिका राम्रोसँग खेल्न सक्छन् ? हाम्रो क्षेत्र चाहे जुनसुकै होस, सफलताको आधार दृष्टिकोण नै हो ।
यदि सफल हुनका लागि दृष्टिकोण अत्यन्त महत्त्वपूर्ण छ भने, के हामीले जीवनको बारेमा हाम्रो दृष्टिकोणलाई जाँच्नुपर्दैन र हामीले आफैलाई यस्तो प्रश्न सोध्नुपर्दैन कि हाम्रो दृष्टिकोणले हाम्रो कारणलाई कसरी असर गर्न सक्छ?
के तपाईंले कहिल्यै सोच्नुभएको छ कि किन कोही मानिसहरू, संस्था वा देशहरू अरू भन्दा बढि सफल छन् ? यसमा कुनै गोप्य कुरा लुकेको छैन । तिनीहरू सफल हुन्छन् किनकि उनीहरू अरूको भन्दा बढी प्रभावकारी ढंगले सोच्ने र काम गर्ने गर्छन् । जसरी कुनै भव्य इमारतलाई उभि रहनको लागि त्यसको जग बलियो हुनुपर्दछ, त्यस्तै सफलताका लागि पनि आधार बलियो हुनु पर्छ र सफलताको आधार हो “दृष्टिकोण.”
दृष्टिकोण निर्धारण गर्ने कारकहरू (Factors that determine attitude)
हाम्रो दृष्टिकोणको धेरै जसो भाग हाम्रो जीवनको शुरुआती वर्षहरूमा नै तय भई हाल्छ । यो सत्य हो कि हामी हाम्रो मन:स्थितिका केही प्रवृत्तिहरू (tendencies) सँग जन्मेका छौं, तर पछि हाम्रो जुन दृष्टिकोण बन्छ त्यसलाई विशेषगरी यी तीन चीजहरू (factors) ले निर्धारण गर्ने गर्दछन:
१ .वातावरण (Environment)
२. अनुभव (Experience)
३. शिक्षा (Education)
इनलाई हामी दृष्टिकोणका तीन ‘Es’ भन्न सक्छौं । अब हामी यी तीनलाई हेरौं:
१. वातावरण (Environment)
वातावरणमा यी चीज़हरु समावेश हुन्छन:
घर – सकारात्मक वा नकरात्मक प्रभावहरू (Home- Positive or Negative influences)
विद्यालय – साथीहरूको दबाव (School – Peer Pressure)
कार्य – सहयोगी, वा आवश्यकता भन्दा बढ़ी आलोचना गर्ने शीर्ष पर्यवेक्षक (Work – Supportive, or over critical supervisor)
मिडिया – टेलिभिजन, समाचार पत्र, पत्रिकाहरु, रेडियो, चलचित्रहरू (Media – Television, Newspaper, magazines, radio, movies)
सांस्कृतिक पृष्ठभूमि (Cultural background)
धार्मिक पृष्ठभूमि (Religious background)
परम्परा र मान्यताहरु (Traditions and beliefs)
सामाजिक वातावरण (Social environment)
राजनीतिक वातावरण (Political Environment)
माथि भनिएका सबै वातावरणहरु मिलेर हाम्रो संस्कृति बनाउँछन । घर हो, संस्था वा देश हो – प्रत्येक ठाउँको आफ्नै संस्कृति हुन्छ । उदाहरण को लागी, तपाईं कुनै स्टोरमा जाँदा त्यहाँको म्यानेजर देखि लिएर बिक्री क्लर्क सम्मलाई शिष्ट, सहयोगी, मैत्री र खुशीले भरीपूर्ण पाउनुहुन्छ भने अर्को कुनै पसलमा काम गर्नेहरूलाई असभ्य र निष्ठुर फेला पार्नु हुन्छ । त्यसैगरी यदि तपाईं कुनै घरमा जानुहुन्छ भने, त्यहाँ आमा-बुवा र बच्चाहरूलाई शिष्ट, मिलनसार र अरूको हेरचाह गर्ने वालाको रूपमा पाउनुहुन्छ भने अर्को घरमा जाँदा, त्यस घरका प्रत्येक व्यक्तिलाई कुकुर बिरालाहरूले झगडा गरेझैं पाउनु हुन्छ ।
जुन देशको सरकार र राजनीतिक वातावरणमा इमान्दारिता हुन्छ, त्यहाँ का मानिसहरु पनि सामान्यतया इमानदार, सहयोगी र कानूनको पालना गर्नेवाला हुन्छन् । यसको उल्टो पनि त्यति नै सही हुन्छ । जसरी इमानदार मानिसलाई बेइमान र भ्रष्ट वातावरणमा बाँच्न गाह्रो हुन्छ, त्यस्तै इमान्दारिताले भरिएको वातावरणमा पनि बेइमान व्यक्तिलाई गाह्रो हुन्छ । राम्रो वातावरणमा, एक सामान्य कर्मचारीको पनि कार्यशक्ति बढ्छ भने खराब वातावरणमा, एक राम्रो र दक्ष कामदारको पनि कार्यशक्ति कम हुन जान्छ ।
संस्कृति कहिले पनि तलबाट माथि जाँदैन, तर यो सधैं माथिबाट तल आउँछ । हामीले पछाडि फर्केर हेर्नु पर्छ कि हामीले आफ्नो लागि र वरीपरीका मानिसहरूका लागि कस्तो किसिमको वातावरण तयार पारेका छौं । खराब वातावरणमा हुने मानिसहरू बाट राम्रो व्यवहारको अपेक्षा गर्न सकिँदैन । जहाँ कानूनको कुनै व्यवस्था हुँदैन त्यहाँ का इमानदार नागरिकहरू पनि चोर र बेइमान भई हाल्छन ।
केही समय निकालेर यो कुरामा ध्यान पुर्याउनु होला कि हाम्रो वातावरणले हामीहरु माथि कसरी असर पार्छ र हामीले जो वातावरण तयार गर्छौं त्यसले अरु माथि कसरी असर पार्ने गर्छ .
२. अनुभव (Experience)
फरक फरक व्यक्तिहरू बाट पाइएको अनुभव बमोजिम हाम्रो ब्यवहारमा पनि परिवर्तन हुने गर्दछ । यदि कुनै एउटा व्यक्ति सँग हामीलाई राम्रो अनुभव पाइयो भने त्यसको बारेमा हाम्रो दृष्टिकोण राम्रो हुन्छ, तर नराम्रो अनुभव पाउंदा हामी सावधान भई हाल्छौं । अनुभव र घटनाहरू हाम्रो जीवनको सन्दर्भ केन्द्र (reference point) हुन्छन् । हामी तिनीहरूबाट निष्कर्ष निकाल्छौं, जसले भविष्यका लागि मार्गनिर्देशन (guidelines) को भूमिका खेल्छन् ।
३. शिक्षा (Education)
शिक्षा औपचारिक र अनौपचारिक दुईटै किसिमको हुन्छ । आजभोली हामीहरु सूचनाको सागरमा त डूबी रहेका छौं तर ज्ञान र समझको अनिकाल छ । ज्ञान लाई योजनाबद्ध ढंगले समझदारीमा रूपान्तरण गर्न सकिन्छ, र समझदारीले हामीलाई सफल बनाउँछ । एक शिक्षकको भूमिका धेरै महत्त्वपूर्ण छ । यसको प्रभाव अनन्तसम्म रहन्छ । यसका प्रभावका तरंगहरू अनगिन्ती छन् । शिक्षा यस्तो हुनुपर्दछ कि यसले हामीलाई जीविका चलाउन मात्र न भएर जीवन जिउने शैली पनि सिकाओस ।
सकारात्मक दृष्टिकोण भएका व्यक्तिहरुको पहिचान कसरी गर्ने ? How do you recognize people with a positive attitude ?
जसरी खराब स्वास्थ्यको अर्थ राम्रो स्वास्थ्य हुँदैन, त्यसरी नै एक व्यक्ति नकारात्मक छैन भने, यसको मतलब त्यो सकारात्मक होला भन्ने होइन । सकारात्मक दृष्टिकोण भएका व्यक्तिसँग केहि विशेषताहरू हुन्छन् जुन सजीलै पहिचान गर्न सकिन्छ । त्यस्ता व्यक्तिहरूले अरूको हेरचाह गर्ने गर्द्छन, आत्मविश्वासले भरिएका, धैर्य र नम्र हुन्छन् । यी व्यक्तिहरूले आफू र अरूबाट धेरै आशा राख्छन् । उनीहरूले राम्रो परिणामहरू पाउने आशा राख्छन् । सकारात्मक दृष्टिकोण भएको व्यक्ति सबै मौसममा फल्ने फल (बारमासी फल) जस्तै हुन्छ । उसको सधैं स्वागत गरिन्छ ।
सकारात्मक दृष्टिकोणका फाईदाहरु The benefits of a positive attitude.
सकारात्मक दृष्टिकोणका धेरै फाइदाहरू हुन्छन । इनलाई सजीलै देख्न सकिन्छ। तर सजिलैसँग देखिने चीजलाई त्यति सजिलै बेवास्ता पनि गर्ने गरिन्छ।
तपाईंको लागि लाभदायक
व्यक्तित्व ख़ुशी हुन्छ
उत्साह उत्पन्न हुन्छ
जीवनको आनन्द बढ्छ
तपाईंको वरीपरीका व्यक्तिहरूले प्रेरणा पाउने गर्छन
तपाईं समाजमा महत्वपूर्ण योगदान दिने सदस्य र राष्ट्रको सम्पत्ति बन्नुहुन्छ
संस्थाहरुको लागि लाभदायक
उत्पादकता बढ्छ
टीम भावना बढ्छ
समस्याहरूको समाधान हुने गर्छ
गुणस्तर बढ्छ
वातावरण तपाईंको अनुसार बन्दै जान्छ
वफादारी बढ्छ
मुनाफा धेरै पाईन्छ
मालिक, कर्मचारी र ग्राहकहरुका बीचमा राम्रो सम्बन्ध गठन हुने गर्छ
तनाव कम हुँदै जान्छ
नकारात्मक दृष्टिकोण का परिणामहरु The consequences of a negative attitude.
जीवनको बाटो अवरोधहरूले भरिएको छ, र यदि हाम्रो दृष्टिकोण नकारात्मक छ भने हामी आफैले आफैंमा सबैभन्दा ठूलो अवरोध बन्छौं । नकारात्मक दृष्टिकोण भएका व्यक्तिहरूलाई मित्रता, रोजगार, विवाह र सम्बन्धहरू कायम गर्न धेरै गाह्रो हुन्छ। नकारात्मक दृष्टिकोणको कारणले गर्दा –
सम्बन्धमा तीतोपन बढ्छ
मानिसहरू तपाईबाट रिसाई रहने गर्छन
जीवन बिना उद्देश्यको हुन्छ
स्वास्थ्य खराब भई रहन्छ
आफ्नो र अरुको लागि तनाव बढ्छ
नकारात्मक दृष्टिकोणले गर्दा घरको वातावरण बिग्रिन्छ । यस्तो मानिस समाजको लागि बोझ बन्छ । यस्ता व्यक्तिहरूले नकारात्मक दृष्टिकोणलाई अस्पृश्यताझैं आफ्ना वरिपरिको मानिसहरूलाई र आउँदो पुस्ताहरू सम्म फैलाउने गर्छन ।
हाम्रो नकारात्मक दृष्टिकोणको बारेमा सचेत भएर पनि हामी यसलाई किन परिवर्तन गर्दैनौं ? मानव प्रवृत्ति सामान्यतया परिवर्तन विरोधी हुन्छ । हामीलाई परिवर्तन पीडादायी लाग्छ । परिवर्तनको परिणाम राम्रो होस वा नराम्रो, तर प्रायः यसले तनाव बढाउँदछ । कैयों चोटि हामी हाम्रा बुराइहरू (negativity) सँग यति सहज महसूस गरी रहेका हुन्छौं कि राम्रोको लागि हुने परिवर्तनलाई पनि स्वीकार गर्न चाहँदैनौं । हामी नराम्रो नै रही रहन चाहन्छौं ।
बाल्यकालबाट हामी जुनसुकै दृष्टिकोण अपनाउँछौं, त्यो हाम्रो उमेर भरि हामीसँग रहन्छ, यसमा कुनै शँका छैन कि हामीलाई बाल्यावस्थामा सकारात्मक दृष्टिकोण सिर्जना गर्न धेरै सजिलो हुन्छ । यदि हाम्रो दृष्टिकोण बचपनको अनुभव र पारिवारिक वातावरणको साथ सकारात्मक भएको छ भने हामी वास्तवमै भाग्यशाली छौं । तर यदि जानाजानी वा परिस्थितिले गर्दा हाम्रो दृष्टिकोण नकारात्मक भएको छ भने के हामीले यसैमा टाँसियेर बसी रहने त ? कदापि हैन ! के यसलाई परिवर्तन गर्न सकिन्छ ? हो, सकिन्छ । के यस्तो गर्न सजिलो छ ? छैन ! के यो गर्न लायक छ ? अवश्य छ ।
हामी सकारात्मक दृष्टिकोण कसरी सिर्जना गर्न सक्छौं र यसलाई कसरी कायम राख्न सक्छौं ? यसका लागि हामीले-
सकारात्मक दृष्टिकोण सिर्जना गर्ने सिद्धान्तहरु को बारे मा सजग हुनु पर्छ ।
सकारात्मक दृष्टिकोण कायम राख्ने इच्छा उत्पन्न गर्नु पर्छ ।
यी सिद्धान्तहरू कार्यान्वयन गर्न, व्यक्तिलाई अनुशासित (disciplined) र समर्पित (dedicated) हुनुपर्छ ।
हामीले जस्तोसुकै वातावरण, शिक्षा र अनुभव पाए हौंला, तर हुर्किसकेपछि हाम्रो दृष्टिकोणको लागि जिम्मेवार को छ ? हामी आफै । हामीले हाम्रो काम र आचरणहरूको उत्तरदायित्व स्वीकार्नु पर्दछ । केहि व्यक्तिहरुले आफ्नो गल्तीको लागि आफुलाई छोडेर अरु सबै व्यक्तिहरुलाई दोष दिने गर्छन । हरेक बिहान हाम्रो दृष्टिकोण छनौट गर्ने उत्तरदायित्व हाम्रै हो । हामीले हाम्रो विगतलाई बिर्सेर नया शुरुवात गरी आफ्ना सपनाहरु को प्रष्ट तस्वीर बनाएर अगाडि बढ्दै सत्य, ईमानदारी र भलाइका लागि सोच्न थाल्यौं भने हाम्रो सोच पनि सकारात्मक हुँदै जान्छ ।
यदि हामी सकारात्मक दृष्टिकोण सिर्जना गर्न र यसलाई कायम राख्न चाहन्छौं भने हामीले यी पाइलाहरू सावधानीपूर्वक चाल्नु पर्ने हुन्छ –
आफ्नो सोच बदलौं र राम्रो खोज्ने तिर लागौं (Change your focus, Look for the positive)
प्रत्येक कामलाई तुरन्त गरी हाल्ने बानी बसालौं (Make a habit of doing it now)
कृतज्ञताको दृष्टिकोण विकास गरौं (Develop an attitude of gratitude)
निरन्तर शिक्षा र ज्ञानका कार्यक्रमहरु बनाउन तिर लागौं (Get into a continuous education program)
राम्रो स्वाभिमानको निर्माण गरौं (Build a positive Self-esteem)
नकारात्मक प्रभावबाट टाढा रहने बानी बसालौं (Stay away from negative influences)
दिनको सुरुवात केही राम्रो (सकारात्मक) कार्यबाट गरौं (Start your day with something positive)
जीवनमा सफलता पाऊनका लागि हाम्रो दृष्टिकोण सय प्रतिशत सही (सकारात्मक) हुनु आवश्यक छ । सीप ८२ प्रतिशत, ज्ञान ९६ प्रतिशत र कडा मेहनत ९८ प्रतिशत छ भने पनि चल्छ, तर यदि दृष्टिकोण (attitude) १०० प्रतिशत छैन भने यसले काम गर्दैन । तलको उदाहरणमा हेर्नुहोस्, यसबाट प्रष्ट हुनेछ :-
A=1, B=2, C=3 ……………………………….……….. र यसै गरी Z=26
लेखक : दीपबहादुर बडुवाल (दीपक)
साभार: केटिम दैनिक (Ktm Dainik)