दक्षिणकाली नगरपालिकामा शहीदको सम्झना, खेलकुदको प्रवर्द्धन र सामुदायिक एकताको सन्देश बोकेर “दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२” भव्य रूपमा सञ्चालन भई अहिले फाइनल चरणमा प्रवेश गरेको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा तथा दक्षिणकाली नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको यस प्रतियोगिताले नगरभरि खेलकुदमय वातावरण सिर्जना गरेको छ।

गौरवमय सुरुवात
माघ ०३ गते फर्पिङ खेल मैदानमा दक्षिणकाली नगरपालिकाका नगरप्रमुखको प्रमुख आतिथ्यतामा राष्ट्रिय गानसँगै शहीद मानबहादुरप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रतियोगिताको उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी युवा तथा नगरवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रतिस्पर्धात्मक खेलमार्फत खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जितेका थिए।

फाइनलसम्मको यात्रा
कठिन प्रतिस्पर्धा पार गर्दै वडा नं. ५ र वडा नं. ९ फाइनलमा प्रवेश गर्न सफल भएका छन्। प्रतियोगिताभर देखिएको अनुशासन, खेल भावना र उत्साहले खेलकुदलाई सम्मान र संस्कारसँग जोड्ने सन्देश दिएको आयोजकले जनाएको छ।


फाइनल खेलसम्म पुग्न सफल दुवै टोलीलाई प्रशंसा, प्रेरणा, बधाई तथा सम्मान व्यक्त गर्न मिति २०८२ साल माघ १४ गते छैमले रिसोर्टमा प्रि–सक्सेस पार्टी समेत आयोजना गरिएको थियो।

समापन समारोह तथा फाइनल खेल
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा फाइनल खेल तथा समापन समारोह २०८२ माघ १७ गते, शनिबार दिउँसो १२:३० बजेदेखि त्रिभुवन आदर्श मा.वि.को खेल मैदानमा वडा नं. ५ र वडा नं. ९ बीच हुँदैछ।
फाइनल खेलमा सेलिब्रेटी अतिथिको रूपमा महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी निशा थोकरको उपस्थित रहने आयोजकले जनाएको छ।
समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरिनुका साथै खेलाडीहरूको सम्मान गरिने कार्यक्रम रहेको छ।
नगरवासीलाई हार्दिक निमन्त्रणा
आयोजक कमिटीले सम्पूर्ण नगरवासी, खेलप्रेमी तथा सरोकारवालाहरूलाई फाइनल खेल तथा समापन समारोहमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन हार्दिक निमन्त्रणा गरेको छ।
“तपाईँको उपस्थिति नै हाम्रो हौसला हो।”
यस प्रतियोगिताले खेलकुदमार्फत शहीदको सम्झनालाई जीवित राख्नुका साथै युवापुस्तामा सकारात्मक ऊर्जा, अनुशासन र एकताको भावना विकास गर्ने विश्वास आयोजकको रहेको छ। दक्षिणकालीमा खेलकुद संस्कृतिको प्रवर्द्धनतर्फ यो प्रतियोगिता महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



