अब चम्पादेवी डाँडा जाने आधार क्षेत्रमा “फ्रि वाई-फाई”

ताजा अपडेट सूचना प्रविधि

काठमाडाैं । दक्षिणकाली नगरपालिकाका युवाहरुले संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी पर्यटकीय क्षेत्र चम्पादेवी डाँडा जाने आधार क्षेत्रमा फ्रि वाई-फाई सेवा सुरु गरेका छन् ।

नगरपालिकाकाे वडा नं ४ स्थित बाँसबारी हुँदै चम्पादेवी डाँडामा जाने पदमार्गको प्रवेशद्वार क्षेत्रमा स्थानीय युवाहरुको पहलमा फ्रि वाई-फाई सेवा सुरु गरिएको हो ।

कोरोना संक्रमणका कारण उपत्यकामा भएको लामो लड डाउन र निषेधाज्ञा अन्त्य भएसँगै उक्त पदमार्ग हुँदै चम्पादेवी पाउ, हात्तिवन रिसोर्ट साथै चम्पादेवी डाँडा जाने आन्तरिक पर्यटकहरुको चहलपहल बाक्लिएको छ ।

“फ्रि वाई-फाई सेवाले सोही क्षेत्रका स्थानीय लाभान्वित हुने त छन् नै ।”, कार्यक्रम संयोजक तथा सामाजिक अभियान्ता अमृत तामाङले भन्नुभयो, “सो पदमार्ग हुँदै चम्पादेवी डाँडा जाने यात्रु, विहान र बेलुका सो बाटो प्रयोग गर्ने सबैले इन्टरनेट सुविधा प्रयोग गर्न पाउने विश्वास लिएका छौं ।”

कार्यक्रमका सभापति तथा वडा नं ४ बाट निर्वाचित नगर सदस्य रेक्सन तामाङले युवाहरुले निःशुल्क इन्टरनेट सुविधा र खेलकुद अभ्यास सञ्चालन र विकास निर्माणमा चालेका कदमले समाजमा नमुना प्रस्तुत गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा वडा, नगरपालिका र अन्य निकायबाट हुन सुक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य गुञ्जमान बस्नेतले बाँसबारीलाई पर्यटकीयस्थलको रुपमा विकास गरेर रोजगारीको अवसर सिजर्ना गर्न कठिन नरहेको बताउनुभयो । तर एक जनाको प्रयासले नभई सबैजना एकिकृत भएर विकासको अभियानमा सरिक हुनुपर्ने उहाँको धारणा छ ।

कार्यक्रममा उपस्थित विभिन्न संस्थाका प्रतिनिधिहरुले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरुले थालेको प्रयासको प्रशंसा गरेका थिए ।

समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा अवस्थित चम्पादेवी धार्मिक, सांस्कृतिक पर्यटनको उपयुक्त गन्तव्य मानिन्छ ।