काठमाडौं । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ ।
यो बर्ष घटस्थापनाको भोलिपल्ट कात्तिक २ गतेदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री खुल्ला गर्ने भएको हो ।
दुई हजार खसी तथा एक हजारको संख्यामा च्याङ्ग्रा वितरण गर्ने योजना अनुरुप खरिद गर्ने प्रकृया अन्तिम चरणमा पुगेको कम्पनीका विभागिय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो ।
‘सबै तयारी पूरा भयो, ढुवानी गरेर काठमाडौं आइपुग्ने समयको आधारमा खसी बोका ल्याउँछौ’ उहाँले भन्नुभयो । मागको आधारमा कति सख्यामा खसी बोका खरिद गरेर ल्याउने भन्ने यकिन हुने उहाले स्पष्ट पार्नुभयो ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यस वर्ष तीन हजार वटा खसी र च्याङ्ग्रा खरिद गर्नको लागि ढुवानीकर्ताहरुको छनौट गरिसकेको छ ।
उनीहरुलाई त्यहाँका स्थानीय प्रशासन कार्यालयले सहजीकरण गरेर खसी बोका पठाउने व्यवस्था मिलाउनेछन् ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले यो बर्षहरुमा दाङ र हेटौंडाबाट खसी बोका ल्याउन लागेको छ ।
च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइने तयारी भैरहेको छ ।
यो बर्ष खाद्यले खसी बोका खरिदका लागि ५ करोड ९९ लाख ८६ हजार रुपियाँ बजेट छुट्याएको छ ।
गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपियाँ बजेट छुट्याएको थियो ।
जसमा कम्पनीले १४ सय वटा खसी–बोका र १६ सय वटा च्याङ्ग्रा ल्याएको थियो ।
संस्थानले विगत वर्षहरु जस्तै यस वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु बिक्री सुरु गरिसकेको छ ।
उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक तथा उपत्यका बाहिरका २४ स्थानबाट सुपथ मूल्यमा खाद्यवस्तु बिक्री भैरहेको छ ।
कात्तिक २ गतेदेखि थापाथालीबाट खसी बोका च्याङ्ग्राको बिक्री हुनेछ ।
खसीबोकाको मूल्य पनि संस्थानले केही दिनमै सार्वजनिक गर्नेछ ।