काठमाडाैं । दक्षिणकाली नगरपालिकास्थित सेतीदेवी माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।
विश्व दृष्टि दिवसका अवसरमा लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको आयोजना र लायन्स क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको व्यवस्थापनमा एक दिने शिविरको आयोजना गरिएको हो ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाको सहकार्य साथै कीर्तिपुर आँखा अस्पताल, फर्पिङ आँखा उपचार केन्द्र र बज्र क्लिनिकको प्राविधिक सहयोग रहेको थियो ।
शिविरमा १ सय ६१ जना व्यक्तिको निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहरूलाई परामर्श, सरसल्लाह र औषधि वितरण गरिएको छ । जसमध्ये १० जनाको यही असोज २७ गते कीर्तिपुर आँखा अस्पतालमा शल्यक्रिया गरिने क्लबका अध्यक्ष लायन सुन्दर आचार्यले जानकारी दिनुभयो ।
शल्यक्रिया अघि असोज २५ गते बज्र क्लिनिकमा स्वास्थ्य जाँच गरिने भएको छ ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले विश्व दृष्टि दिवसका अवसरमा जेष्ठ नागरिकहरुको गुम्न लागेको दृष्टि फकार्उने सेवामा जुटेकोमा खुशी व्यक्त गर्नुभयो ।
“समाजप्रति उत्तरदायित्व भएर अपठ्यारो परिस्थितिमा समेत सामाजिक सेवामा समर्पित भएकोमा सिंगो नगरपालिका खुशी छ ।”, नगर प्रमुख बस्नेतले भन्नुभयो, “आगामी दिनमा पनि नगरपालिका लियो र लयान्स क्लबका काममा सँधै साथमा रहनेछ ।”
कोरोना जोखिमबीच सम्पन्न शिविर सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कायम गर्दै उच्च सतर्कताका साथ सञ्चालन गरिएको क्लबका सल्लाहकार प्रमोद कुमार पौडेलले जानकारी दिनुभयो ।