काठमाडौं । साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो ।
एसईईमा सफल दक्षिणकाली वडा नं ४ का सबै छात्रछात्रालाई प्रमाणपत्र र डायरी हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रकाश विशुन्केले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले अबको शिक्षा प्रविधिमैत्री रहेकोले विद्यार्थीहरुले त्यसतर्फ ध्यान दिन जरुरी रहेकोमा जोड दिनुभयो । विषयगत समिति मार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम अघि सारेको मेयर बस्नेतले बताउनुभयो ।
नगर उप प्रमुख बसन्ती डंगोल तामाङले संस्थाको नाम जस्तैै साहस गरेर नै सम्मान कार्यक्रमकाृ आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
साथै, नगरपालिकाका कार्यपालिका सदस्य एवं आर्थिक विकास समितिका संयोजक सुरेश बस्यालले अरुको देखासिकी नगरी आफ्नै विवेकको प्रयोग गरी, इच्छा अनुसार भविष्यको निर्णय लिन सुझाव दिनुभयो । एसईई र १२ कक्षा उत्तिर्ण लगत्तै उच्च शिक्षाको नाममा विदेश जाने ट्रेण्ड नै चलेको भन्दै सकेसम्म स्वदेशमै बसेर अध्ययनसँगै समाजमै योगदान दिन सके हामीले हाम्रो समाजलाई छोटो समयमै समृद्ध बनाउन सकिने बताउनुभयो ।
यस्तै, लायन्स क्लब दक्षिणकालीका संस्थापक अध्यक्षले युवाहरु पनि समाजिक सेवामा सहभागी हुन सक्ने भएकाले आआफ्नो क्षेत्रबाट स्वस्फुर्त अघि बढ्न आग्रह गर्नुभयो ।
सम्मानित १५ जना मध्ये २ जना ए प्लस, ७ जना ए, ४ जना बि प्लस, २ जनाले बि ल्याएका थिए । सम्मानित विद्यार्थीहरुमा सामुदायिक तर्फबाट श्री सेतीदेवी माध्यमिक विद्यालयका अञ्जु श्रेष्ठ(३.४० जिपिए), सुयोग विष्ट(३.३५ जिपिए), सलमा तामाङ(३.३० जिपिए), प्रजिता बस्याल(३.१५ जिपिए), वाम्टेल श्रेष्ठ(३.१० जिपिए), सपना तामाङ(२.८० जिपिए), समिर रम्तेल(२.७० जिपिए) र संस्थागत विद्यालयतर्फबाट भानुभक्त मेमोरियल स्कुलकी विनिती थापा(३.७५ जिपिए), शिखरापुर सामुदायिक विद्यालयका गौरव विशुन्के(३.५० जिपिए) र नेहा श्रेष्ठ(३.२५ जिपिए), कार्डिनल इन्टरनेशनल बोर्डिङ स्कुलका आर्यन विशुंखे(३.८० जिपिए), अविरल थापा(३.३० जिपिए), त्रिभुवन आदर्श आवाशीय माध्यमिक विद्यालयकी भावना श्रेष्ठ(३.१५ जिपिए) र विजय विशुंखे शिखरापुर खुल्ला विद्यालयबाट उत्तिर्ण हुनुभएको हो ।
हरेक कुराको सफलता व्यवस्थापन: बैंकर खड्का
सम्मान कार्यक्रमसँगै सिद्धार्थ बैंक लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्जवल खड्का क्षेत्रीले विद्यार्थीहरुसँग ‘एसईई पछि के’ भन्ने उद्देश्यले आयोजित करियर काउन्सिलिङ कार्यक्रममा विद्यार्थीहरुसँग अन्र्तक्रिया गर्नुभयो । एसईईपछिको शैक्षिक भविष्यबारे गम्भीर हुनको लागि विद्यार्थीहरुलाई प्रेरणा दिइएको थियो ।
उहाँले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताउनुभयो ।
पारिवारिक दबाब भन्दा पनि आफ्नो क्षमता र आफ्नो इच्छा अनुसारको विषय छनोट गर्न उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा, वडा नं ४ का जनप्रतिनिधि, युवा समाजसेवी लगायतको उपस्थिति थियो ।
अन्य तस्वीरः