गुठी विधेयकविरुद्ध एकसाथ उत्रिए नेवार समुदाय

ताजा अपडेट विविध

गुठी विधेयकविरुद्ध एकसाथ उत्रिए नेवार समुदाय

असार ४, काठमाडौं । फ्ल्यास खबर

सरकारले गुठी विधेयक फिर्ता लिए पनि राजधानीको नेवार समुदाय खबरदारी गर्दै बुधबार प्रदर्शनमा उत्रिएको छ । विधेयक फिर्ता नभई खारेजी नै गर्नुपर्ने उनीहरूको माग छ । चौतर्फी विरोधपछि सरकारले मंगलबार साँझ विधेयक फिर्ता लिएको थियो । राजधानीका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले यस अघि छुट्टाछुट्टै सभा गरेर विरोध जनाउँदै आएकामा बुधबार माइतीघर मण्डलमा एकत्रित प्रदर्शन गरेका हुन् । उनीहरूले गुठी आफ्नो सांस्कृतिक सम्पदा रहेको जनाउँदै सरकारले मास्न खोजेको आरोप लगाए । प्रदर्शनमा सहभागी ललितपुरका गम्भीर महर्जनले सरकारले नेवार समुदायको मात्र नभई संस्कृतिप्रेमी नेपालीको आस्थामा प्रहार गरेको बताए । ‘ सरकारलाई मत दिने नागिरकको भावनामा खेलबाड भयो,’ उनले भने । प्रदर्शनकारीले सूचनामन्त्री गोकुल बाँस्कोटा र भूमिसुधारमन्त्री पद्मा अर्यालको समेत राजीनामा माग गरेका थिए । विरोध प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमन प्रभावित हुन पुगेको थियो । बानेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक रुटका गाडीहरू रोकिनुपरेको थियो । प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अप्रिय घटना हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको थियो । वारुण यन्त्रदेखि सुरक्षा ट्यांकसम्म तमतयार राखिएका थिए । हजारौं सहभागी जुलुस माइतीघर मण्डलमा पुगेर खबरदारी सभामा परिणत भएको थियो । जुलुसमा बालक, वृद्ध, युवा, युवतीसँगै गुठीसम्बन्धी विभिन्न संस्थाका प्रतिनिधि सहभागी थिए ।