‘आत्मबल उच्च पार्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीकाे ठूलाे भूमिका छ, मैले छिट्टै काेराेनालाई जितेँ’

ताजा अपडेट नगर गतिविधि समाचार

काठमाडाैं । चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा आइसाेलेसनमा भर्ना भएका एक पुरुष काेराेनामुक्त भइ घर फर्किएका छन् । दक्षिणकाली नगरपालिका–८ छैमलेका ती पुरुष १८ दिन आइसाेलेसनमा बसेपछि कोरोनालाई जितेर आइतबार घर फर्किएका हुन्। उनमा काेराेना संक्रमण देखिएपछि साउन २९ गते चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रकाे आइसाेलेसनमा भर्ना गरिएकाे थियाे ।

पछिल्लाे पटक भलाै ८ गते पीसीआर रिपाेर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएकाे हाे । काेराेना संक्रमित बढ्दै गएपछि दक्षिणकाली नगरपालिकामा रहेकाे चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रले विशेष आइसाेलेसन कक्ष निर्माण गरेकाे थियाे । अन्य स्थानीय तहभन्दा ढिला गरी निर्माण भएकाे आइसाेलेसनमा काेराेना संक्रमितकाे उपचार र हेरचाहलाई उच्च प्राथमिकता दिएका पाइएकाे छ । आइसाेलेसनकाे बसाइपछि कोरोनामुक्त भइ घर फर्कने क्रममा उहाँलाई नगरका प्रमुख, उप-प्रमुख र वडाका प्रतिनिधि नै पुगरे विदाई गर्नुभएकाे थियाे । काेराेनामुक्त पुरुषकाे भनाइलाई उद्धृत गर्दै उप-मेयर बसन्ती डंगाेल तामाङले भन्नुभयाे, ‘ जनप्रतिनिधहरुकाे निरन्तरकाे हेरचाह र वास्ताले मनाेबल उच्च पारेर काेराेनाकाे संक्रमणबाट चाँडाे मुक्त हुन सफल भएँ । यहाँ उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरूकाे निरन्तरकाे निगरानी र यहाँकाे पारिवारिक वातावारणले छिटाे निकाे हुने शक्ति मिल्याे ।’ नगरपालिकाले आफ्नै ठाउँमा आइसाेलेसन वार्डकाे व्यवस्था गरेपछि संक्रमितहरूकाे पारिवारिक वातावरणमा उपचार गर्न थप सहज हुने जनप्रतिनिधिहरूकाे विश्वास छ ।