काठमाडौं, ९ असोज । विभिन्न माग राखेर विगत १२ दिनदेखि आमरण अनसनमा बस्नुभएका डा. गोबिन्द केसीले आफ्नो माग पूरा गरिदिन आग्रह गर्नुभएको छ ।
डा.केसीले शुक्रबार (आज) अनसनस्थलबाटै भिडियो सन्देश जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो साधारण मागलाई पूरा गरिदिन आग्रह गर्नुभएको हो ।
डा. केसीले भिडियोमार्फत् जारी गनुभएको सन्देशमा प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान बनाउने सहमति भएर चिकित्सा शिक्षा अध्यादेशमा आएपनि कार्यान्वयन नभएको बताउनुभएको छ ।
त्यस्तै, उहाँले कर्णाली प्रतिष्ठान खुलेको आठ वर्ष भइसकेपनि एमबीबीएस कार्यक्रम सुरु हुन नसकेको बताउनुभएको छ । त्यस्तै, उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका धेरै फाइलहरु रोकेको जनाउदै आयुक्तहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि गर्नुभएको छ ।
डा. केसीले आफ्नो माग सम्बोधन नभएसम्म आफ्नो सत्याग्रह जारी रहने बताउनुभएको छ । डा. केसीले गत भदौ २९ गते विभिन्न ६ बुँदे माग राखेर जुम्लाको बाबिरामष्ट मन्दिरमा अनशन थाल्नुभएको थियो ।
तर, उहाँको स्वास्थ्यावस्था कमजोर बन्दै गएपछि काठमाडौं ल्याइएको छ । हाल उहाँ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकोको आकस्मिक कक्षामा अनशनरत हुनुहन्छ ।