दक्षिणकाली नगरपालिकामा २ जना व्यक्तिमा डेंगी रोगको संक्रमण देखिएको छ । नगरपालिका स्रोतका अनुसार संक्रमित दुवै जना वडा नं ४ का स्थानीय हुन् । नगरपालिकाले वडाका स्वास्थ्य कार्यालय मार्फत विवरण लिने र आवश्यक अनुसन्धान र रोकथामका उपायबारे अध्ययन गरिरहेको जनाएको छ ।
आज नगरपालिकामा डेंगी रोकथामको विषयमा जनप्रतिनिधि, सरोकरवाला निकाय र स्वास्थ्य कर्मचारीविच अन्तर्क्रिया कार्यक्रम आयोजना गरी सबै वडा कार्यालय र स्वास्थ्य कार्यालयलाई
तयारी अवस्थामा रही रोकथाम र नियन्त्रणका आवश्यक उपाय अबलम्बन गर्न अनुरोध गरिएको छ ।
यस्ता छन् डेंगीका लक्षण र बच्ने उपायः
डेंगी ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।
लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।
बच्ने उपाय
–डेंगी ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने
–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।