दक्षिणकालिमा खस्यो ७१.५५%, देशभरमा ६१ % मत

ताजा अपडेट ब्रेकिंग समाचार

काठमाडौँ — दक्षिणकाली नगरपालिकामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा आज ७१.५५ प्रतिशत मत खसेको छ जुन बैशाख ३० गतेको स्थानिय निर्वाचन भन्दा ९.३२ प्रतिशतले कम हो ।
१८ हजार ६ सय मतदाता रहँदा आज सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रारम्भिक डाटा अनुसार १३ हजार ३ सय ९ मत खसेको छ । बैशाख ३० गतेको निर्वाचनमा १७ हजार ९१६ मतदाता रहँदा १४ हजार ४ सय ८८ मत खसेको थियो जुन ८०.८७ प्रतिशत थियो । काठमाण्डौं क्षेत्र नं १० को मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा गर्ने तयारी भैरहेको छ भने मतगणाना मंसिर ५ गते सोमबार बिहानको ८ बजे बाट गर्ने भन्ने जनाईएको छ ।

देशभरमा ६१ % मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा न्यून मत खसेको हो ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ आज केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोगले हार्दिक आभार व्यक्त गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले पत्रकार सम्मेलन गर्दै भने, ‘यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’ २०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो ।
छ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए । त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७.६९ प्रतिशत, बाग्मतीमा ६४.१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५.८० प्रतिशत मतदान भएको थियो ।
स्थानीय चुनावभन्दा करिब ६ प्रतिशत कम मतदान भएको जानकारी दिनुभयो ।