दक्षिणकाली नगरपालिकाः आगामी दुई वर्ष पूर्वाधार निर्माणको वर्ष

ताजा अपडेट नगर गतिविधि ब्रेकिंग

दक्षिणकाली नगरपालिकाले ६७ करोड ०४ लाख ५९ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाकाे ९ औं नगरसभामा उप-प्रमुख बसन्ती डंगाेल तामाङले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रममा १२ करोड ६३ लाख३७ हजार संघ र प्रदेशकाे वित्तीय समानिकरण अनुदान अन्तर्गत आम्दानी हुने पनि देखाइएको छ ।

त्यसैगरी राजस्व बाँडफाँटतर्फ १५ करोड ६७ लाख ७५ हजार र आन्तरिक आम्दानीबाट ५ करोड ८८ लाख ८५ हजार रूपैयाँ जम्मा हुने तथ्यांक प्रस्तुत गरिएको छ।सशर्त अनुदानतर्फ संघबाट २० कराेड ८३ लाख र प्रदेशबाट २ कराेड २७ लाख २१ हजार गरी २३ कराेड १० लाख २१ हजार रूपैयाँ जम्मा हुने प्रस्तावित बजेटमा उल्लेख छ ।

यस्तै, अन्तरपालिका साझेदारी अनुदानतर्फ ४ कराेड ४५ लाख आम्दानी हुने अनुमान गरिएकाे छ ।आन्तरिक आयतर्फ ५ कराेड ८८ लाख ८५ हजार छ भने समपुरक अनुदान ३ कराेड ८९ लाख ४० हजार र विशेष अनुदानतर्फ १ कराेड ४० लाख रूपैयाँ जम्मा हुने तथ्यांक प्रस्तुत गरिएको छ।

नगर उप-प्रमुख डंगाेलले आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरणसँगै आर्थिक विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ नगरसभामा पेश गर्नुभयाे । आगामी वर्ष वडास्तरमा तर्जुमा भएका वडास्तरीय योजनाहरुको कार्यान्वयनका लागि जनसंख्या, भूगोल, राजस्व परिचालनको स्थिति तथा विकटता समेतलाई आधार मानेर ७ कराेड ४२ लाख ५० हजार विनियोजन गरिएको छ ।

नगरक्षेत्रमा सम्भावित वाढी, पहिरो, भू क्षय, भुकम्प, हावाहुरी जस्ता प्रकृतिक विपत्तीबाट धनजनको क्षति न्यूनिकरण गर्न तथा पिडित प्रभावितको राहत, उद्धार, पुनस्थापना एवम् पुनर्निमाणको लागि विपद् व्यवस्थापन काेषकाे रूपमा १ करोड विनियोजन गरिएको छ ।नगरपालिकाले प्रशासनिक अनिवार्य दायित्वतर्फ ११ कराेड ६७ लाख, समपुरक काेषतर्फ ६ कराेड, नगरस्तरीय याेजनातर्फ ४ कराेड २६ लाख २८ हजार रूपैयाँ खर्च अनुमान गरिएकाे छ ।

नगरपालिकाले आगामी दुई वर्षलाई पूर्वाधार निर्माणकाे वर्षका रूपमा मनाउने नीति लिएकाे छ । जसमा नगरपालिकाकाे प्रशासकीय भवन बनाउनेदेखि आधारभूत नगर अस्पताल, वडा कार्यालय तथा स्वास्थ्य संस्थाकाे मर्मत तथा निर्माणलाई प्राथमिकता दिने भनिएकाे छ। ।

शुक्रबार नगर प्रमुख माेहन बस्नेतकाे अध्यक्षतामा नगरसभाकाे ९ओं अधिवेशन भएको थियो। नगरसभाको अर्को बैठक २३ गते बिहिबार बस्ने कार्यक्रम छ।