बाल सुधार आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास तालिम सम्पन्न

शिक्षा समाचार

काठमाडौं । प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिम भव्यताका साथ सम्पन्न भएको छ । असार २९ देखि ३२ गतेसम्म सञ्चलन भएको तालिम एक कार्यक्रमकाबीच दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख मोहन बस्नेतले प्रारम्भिक बाल विकास शिक्षाको सवालमा सिंगो नगरपालिका गम्भिर भएर काम गरिरहेको बताउनुभएको छ । शनिबार बाल सुधार आधारभूत विद्यालयमा सम्पन्न प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर बस्नेतले बजेटको सिमितताको बाबजुत पनि नगरपालिकाले नीति तथा कार्यक्रममा यस क्षेत्रको समग्र शैक्षिक सुधारका विषय समावेश गरेको बताउनुभयो ।

सबै विद्यालयले विद्यार्थीहरुको क्षमता विकास गर्दै विद्यार्थी संख्या बढाउने गरेर कार्यक्रम ल्याए विद्यालय भवन लागयतका भौतिक संरचना निर्माण र विस्तारमा कुनै चिन्ता नगर्न उहाँले आग्रह गर्नुभयो ।
काठमाडौ विश्वविद्यालय अन्तर्गत पोष्ट ग्रेजुएट डिप्लोमाका विद्यार्थीहरुको आयोजना साथै सम्पूर्ण नेपाल र लियो–लायन्स क्लब दक्षिणकालीको सहकार्यमा बाल सुधार आधारभुत विद्यालय, बाँसवारीमा ४ दिने तालिमको आयोजना गरिएको हो । चार दिने तालिममा सहभागी २२ जनालाई नगर प्रमुख बस्नेत र उप–प्रमुख बसन्ती डंगोल तामाङले प्रमाण पत्र वितरण गर्नुभएको थियो । आयोजकको तर्फबाट ४ प्रशिक्षक सरिता तण्डुकार, सोभना सिंह खत्री, समिरा दाहाल र ज्योती लिम्बुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सम्बोधनका क्रममा उप–प्रमुख तामाङले काठमाडौ विश्वविद्यालयका विधार्थीहरुले ईसिडी तालिमको लागि दक्षिणकाली नगरपालिका रोजेकोमा धन्यवाद ज्ञापन गदैै यस्ता तालिमले विद्यालयको जग बलियो बनाउने र विद्यार्थी संख्या बढाउन ठुलो मद्धत पुग्ने बताउनुभयो । संस्कार सहितको शिक्षामा जोड दिदै उप–प्रमुख तामाङले साना बालबालिकाहरुलाई कक्षा कोठा बाट नै आफ्नो भाषा संस्कृति र परम्परा प्रति जिम्मेवार बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक प्रकाश विशुन्के, आर्थिक विकास समिति सुरेश बस्याल, दक्षिणकाली वडा नं ४ का कार्यवाहक वडाध्यक्ष, इसीइसी नेपालका प्रतिनिधि लगायतको सहभागीता थियो । सहभागी सबैलाई धन्यवाद दिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमी महर्जनले बाल सुधार विद्यालयमा सञ्चालन भएको तालिमले विद्याल र समाजकै लागि नयाँ सन्देश दिएको बताउनुभयो ।

विद्यालयको प्रधानाध्यापक विजेता खनालले ४ दिने तालिमले  शिक्षक शिक्षिकामा बालबालिकालाई पढाउने सवालमा थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो । प्रारम्भिक बाल विकासको क्षेत्रमा काम गर्दै आउनुभएका युवा समाजसेवी रोशन वश्यालले तालिमको संयोजन गर्नुभएको थियो । ईसिडी तालिमलाई निकट भविष्यमा सम्झौता गरेर नै नगरपालिकाका सबै विद्यालयमा सञ्चालन गर्नेबारे कार्यक्रममा छलफल भएको थियो ।