काठमाडौंमा बढ्यो जग्गाको न्यूनतम मूल्यांकन, कहाँ कति??

ताजा अपडेट ब्रेकिंग

आर्थिक वर्ष २०७९/८० का लागि जग्गाको न्यूनतम मूल्यांकन बढेको छ ।

काठमाडौं उपत्यकामा कलंकी, साँखु, ललितपुर र भक्तपुर मालपोत कार्यालयअन्तर्गत न्यूनतम मूल्यांकन वृद्धि गरिएको छ । साउन १ गतेदेखि लागू भएको नयाँ मूल्यांकनमा साविकको भन्दा १० देखि ३० प्रतिशतले न्यूनतम मूल्यांकन बढाइएको छ ।

कलंकी मालपोत कार्यालयअन्तर्गत दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाले मात्रै जग्गाको न्यूनतम मूल्यांकन बढाएका छन् । ती पालिकाले न्यूनतम १० प्रतिशतदेखि मूल्यांकन बढाएको मालपोत कार्यालय, कलंकीका प्रमुख हरिकृष्ण सुवेदीले बताए ।

मालपोत कार्यालय, साँखु अन्तर्गत भने न्यूनतम ५ देखि अधिकतम ३० प्रतिशतसम्म मूल्यांकन बढेको सो कार्यालयका प्रमुख सुरेश आचार्यले बताए ।

मूल्य बढी भएको ठाउँमा ५ देखि १० प्रतिशत मूल्यांकन बढाइएकोमा अधिकतम मूल्य भएको ठाउँमा सोलोडोलो मूल्यांकन बढाउँदा ३० प्रतिशतसम्म पनि मूल्यांकन वृद्धि भएको उनले बताए ।

मालपोत कार्यालय, भक्तपुरअन्तर्गत पनि कम्तिमा १० देखि २० प्रतिशतसम्म मूल्यांकन बढेको छ । भक्तपुर नगरपालिकाले सोलोडोलो मूल्यांकन बढाएको र अन्य नगरपालिकाले १० प्रतिशतका दरले मूल्यांकन बढाएको मालपोत कार्यालय, भक्तपुरका प्रमुख गणेश खड्काले बताए ।

मालपोत कार्यालय डिल्लीबजार, चाबहिल, मनमैजु र टोखा अन्तर्गतका स्थानीय तहले भने न्यूनतम मूल्यांकन बढाएका छैनन् ।

दक्षिणकाली नगरपालिकाको लागि आर्थिक वर्ष २०७९/८० का लागि जग्गाको न्यूनतम मूल्यांकन

 

केही ठाउँमा बढेन मुल्य

भूउपयोग नियमावली २०७९ कार्यान्वयको चरणमा रहेकोले अहिले न्यूनतम मूल्यांकन बढाउन उपयुक्त नदेखिएकोले धेरैजसो स्थानीय तहले मूल्यांकन नबढाएको मालपोत चाबहिलका प्रमुख उपाध्यायले बताए ।

अहिले मूल्यांकन नबढाउनुको दोस्रो कारण चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक मूल्यांकन लागू गर्ने घोषणा भएकोले पुरानो मूल्यांकन नबढाइएको हो ।

तेस्रो कारण भने देशमा आर्थिक गतिविधि कम भएको र घरजग्गाको कारोबारमा मन्दी आएकोले न्यूनतम मूल्यांकन वृद्धि नगरिएको उपाध्यायले बताए ।

उपत्यकाको छेउछाउमा यसकारण बढ्यो मुल्यांकन

चक्रपथ आसपासमा जग्गाको मूल्य अत्यधिक वृद्धि हुँदा सस्तो जग्गा खोज्नेको रोजाइमा काँठ क्षेत्र परेको छ । काँठ क्षेत्रमा भौतिक संरचना निर्माण भएको, बाटो फराकिलो पारिएको, घरजग्गाको कारोबार पनि तीव्ररूपमा वृद्धि भएकोले न्यूनतम मूल्यांकन बढाएको मालपोत कलंकीका प्रमुख सुवेदीले बताए ।

कतिपय ठाउँमा नयाँ बाटो खुलेका कारण वरपरको बाटोमा पर्ने जग्गाकै हाराहारी मूल्यांकन राख्दा पनि मूल्यांकन बढेको उनले बताए । अन्य ठाउँमा भने खासै मूल्य नबढेको उनको भनाइ छ ।

पुरा पढ्नुहोस्