सामाजिक सुरक्षा भत्ता कार्यक्रममा दक्षिणकाली नगरपालिकाको प्रभावकारी कार्यान्वयन

ताजा अपडेट नगर गतिविधि ब्रेकिंग समाचार

नेपाल सरकारले आर्थिक रूपमा विपन्न, सामाजिक जोखिममा रहेका तथा विशेष संरक्षणको आवश्यकता भएका नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा भत्ता कार्यक्रम एक महत्वपूर्ण सामाजिक संरक्षण कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजाति तथा बालबालिका लगायतका लक्षित समूहलाई नियमित नगद सहायता प्रदान गरदै आएको छ। नेपालमा सामाजिक सुरक्षा भत्ता कार्यक्रमको औपचारिक सुरुवात वि.सं. २०५२ (सन् १९९५) सालमा जेष्ठ नागरिकलाई मासिक १०० रुपैयाँ भत्ता प्रदान गरेर गरिएको हो। हाल यो कार्यक्रम अझ व्यापक र प्रभावकारी रूपमा विस्तार भइसकेको छ।

दक्षिणकाली नगरपालिकाले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई सहज, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले विभिन्न बैंकहरूसँग सहकार्य गर्दै आएको छ। हाल नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नविल बैंक, सिद्धार्थ बैंक र एन.आई.सि. एशिया बैंक गरी जम्मा पाँचवटा बैंकसँग सहकार्य गरी भत्ता वितरण गर्दै आएको छ।

नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त लाभग्राहीहरूको सुविधालाई विशेष ध्यानमा राख्दै घरदैलो कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन गर्दै आएको छ। हरेक किस्ता वितरणका क्रममा विभिन्न वडामा शिविरमार्फत सेवा प्रदान गरिँदा बैंकसम्म आफैं पुग्न नसक्ने लाभग्राहीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। विशेषगरी वडा नं. २ मा क वर्ग (रातो कार्ड प्राप्त) का अपाङ्ग लाभग्राहीहरूको संख्या अन्य वडाको तुलनामा बढी रहेको र कतिपय लाभग्राहीहरूलाई उनीहरूको आफ्नै कोठामा पुगेर समेत भत्ता वितरण गरिएको छ। यस्तै अन्य वडाहरुमा पनि हिँडडुल गर्न नसक्ने अवस्था भएका जेष्ठ नागरिक तथा अशक्त लाभग्राहीहरूका लागि यो शिविर अत्यन्त उपयोगी सावित भएको छ।

हाल दक्षिणकाली नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको विवरण अनुसार जेष्ठ नागरिक १,२९८ जना, जेष्ठ नागरिक (दलित) ६१ जना, जेष्ठ नागरिक एकल महिला २९६ जना, विधवा ४३१ जना, क वर्गका अपाङ्ग नागरिक ९५ जना, ख वर्गका अपाङ्ग नागरिक १६२ जना तथा दलित बालबालिका ७५ जना गरी जम्मा ,४१८ जना लाभग्राही रहेका छन्। चालु आर्थिक वर्ष ०८२/०८३ को दोस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण कार्य सम्पन्न भइसकेको छ।

यस क्रममा मिति २०८२ माघ १३ गते वडा नं. २ को कुष्ठरोग निवारण संघको कार्यालय, ग्वाल्दह परिसरमा राष्ट्रिय वाणिज्य बैंक र नगरपालिकाको समन्वयमा भत्ता वितरण शिविर सञ्चालन गरिएको थियो। त्यसैगरी मिति २०८२ माघ १४ गते वडा नं. ३ कार्यालयमा तथा माघ १५ गते वडा नं. ९ कार्यालयमा सिद्धार्थ बैंक र नगरपालिकाको सहकार्यमा शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ। बाँकी रहेको वडा नं. ८ मा रहेका लाभग्राहीहरूका लागि एन.आई.सि. एशिया बैंक सँग समन्वय भइरहेको र बैंकका विविध कारणले शिविर सञ्चालनमा केही ढिलाइ भएको जानकारी प्राप्त भएको छ।

यसरी दक्षिणकाली नगरपालिकामा क्रियाशील बैंकहरूले आफ्नो व्यवसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नगरपालिकासँग हातेमालो गरी सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन गर्दै आएका छन्। यसबाट विशेषगरी बैंकसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त लाभग्राहीहरूले प्रत्यक्ष र ठूलो लाभ लिइरहेका छन्। सामाजिक सुरक्षा भत्ता कार्यक्रमको यस्तो प्रभावकारी कार्यान्वयनले स्थानीय तहमा सामाजिक न्याय र समावेशीतालाई थप सुदृढ बनाएको छ।