मानबहादुर कपको सफलता सँगै उब्जियको प्रश्‍न

अन्तर्वार्ता/विचार खेलकुद ताजा अपडेट ब्रेकिंग समाचार

दक्षिणकालीमा सम्पन्न दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ ले फेरि एकपटक प्रमाणित गरिसकेको छ  कि —फुटबल केवल खेल होइन, युवाको ऊर्जा, जोश र समुदायको पहिचानको प्रतीक पनि हो। प्रतियोगिताको मुख्य विशेषता केवल खेलमा सीमित रहेन, उत्कृष्ट व्यवस्थापन, अनुशासित सञ्‍चालन र सामुदायिक सहभागिताले यसलाई सफल र स्तरिय बनाएको छ। यसका लागि शहीद मानबहादुर स्मृति प्रतिष्ठान धन्यवादको पात्र छ।

मैदानमा दर्शकको उपस्थिति, खेलाडीको जोश र युवामा देखिएको उत्साहले स्पष्ट सन्देश दिएको छ  कि —दक्षिणकालीमा फुटबलको माहोल जीवित मात्र होइन, बलियो हुँदैछ र हरेक वर्ष कायम रहन सक्छ। तर यहीँनेर अर्को गम्भीर प्रश्न उठ्छ —के हामी यो माहोललाई दीर्घकालीन खेलाडी उत्पादन प्रणालीमा बदल्लन सक्छौ त? प्रतियोगिताले उत्साह दिन्छ, तर विकासका लागि निरन्तर प्रशिक्षणको आवश्यकता छ। नगरका पूर्व खेलाडी, खेलकुद प्रेमी व्यक्तित्व र खेलकुद विकास समितिहरू छन् तर बालबालिकालाई लक्षित गर्दै नियमित रुपमा आधारभूत तह देखिनै फुटबल विकास हुने कार्यक्रम सञ्चालन खासै भएको देखिँदैन। यही उमेर समूहबाट भविष्यका खेलाडी जन्मिन्छन्, तर उनीहरूलाई सम्हाल्ने संरचना अभावमै छ।

यदि सम्बन्धित निकाय, पूर्व खेलाडी र खेलकुद विकास समितिले पहल नभए  प्रतियोगितामा देखिएको प्रतिभा विस्तारै हराउने जोखिम रहन्छ। अब आवश्यक छ नगरस्तरीय योजना, विद्यालयसँग सहकार्य, नियमित तालिम, प्रशिक्षक उत्पादन र नगर लिग सञ्चालन”। तीन–चार महिनासम्म चल्ने लिग र खेलाडीको डाटाबेसले मात्र भविष्यका खेलाडी तयार गर्न सक्छ।

प्रतियोगिताले आगो बालिदिएको छ; त्यसलाई निभ्न नदिने जिम्मेवारी अब स्थानीय तह र सरोकारवालाको हो। आज मानबहादुर कप सफल भएकोमा आयोजकलाई धन्यवाद दिनु स्वाभाविक छ। तर साँचो सफलता त्यतिबेला हुनेछ, जब यस प्रतियोगिताबाट उत्पन्‍न उत्साहलाई दीर्घकालीन संरचना र योजनामा रूपान्तरण गरिनेछ। फुटबलको माहोल तयार छ, अब पालो संरचना बनाउनेको हो।