सविना श्रेष्ठ
सबिनाको चित्रकला प्रतिको मोह :
चैत्र १३, काठमाडौं । फ्ल्यास् खबर
सेल्फ लर्निङ र सबिनाको कला सपना सानैदेखि चित्रकलामा रुचि राख्ने सबिना श्रेष्ठ दक्षिणकाली नगरपालिका वडा नं. ६ फर्पिङमा बसोबास गर्छिन् । स्कुल छुट्टी हुने वित्तिक्कै केही न केही कोर्न बस्ने उनी कार्टुनहरु र किताबका चित्रहरु त हुबहु बनाउँछिन् साथै भित्ते पत्रिकाका लागि चाहिने चित्र सबैजसो बनाउँछिन् । उनको झोलामा स्केच बुक, कुची, रङका बट्टा र केही स्केचहरु हुन्छन् । घरमा पनि यस्तै काममा समय बिताउने उनी फुर्सद भयो कि स्केच, रङ र पेन्सिलसँग रमाउँछिन ।
कार्टुन, वातावरण, भगवानका चित्रहरु बनाउनमा बढी रुचि राख्ने उनी १० कक्षाको वार्षिक परीक्षा सकिएपछि भने फ्रि स्केचहरु बनाउनतिर लागिन् । सुरुसुरुमा सामान्य पेन्सिलहरुबाट नै स्केच बनाउँथिन् भने अहिले रङहरुसँग खेल्न थालेकी छिन् । उनले कहिल्यै पनि औपचारिक कक्षा लिएर सिक्न पाइनन् । उनले सामाजिक सञ्जालमा पाइने भिडियोहरु, केही चित्रकारहरुको चित्रहरु हेरेर चित्र बनाउन र सिक्न थालिन् । युट्युबमा पाइने भिडियो हेरेर विस्तारै स्केचका लागि चाहिने आवश्यक सामानहरु जुटाउँदै आफैं अभ्यास गरेर सिक्न थालिन् । सबिना भन्छिन- “चित्रकला मेरो एक रुचि हो“ आफ्नो रुचिलाई प्रोफेसनल बनाउने सोच बनाउँदै मैले सेल्फ लर्निङ गर्न थालेँ । जीवनमा आफ्नो रुचिलाई उच्च स्थान दिन चाहने सबिना आफ’मा भएको खुबीलाई निखार्नका लागि सक्दो प्रयत्न गर्र्दैछिन् । अचेल अर्डरमा आउने काम पनि गर्न थालेकी छिन् । कागज कलामा पनि रुचि भएकी सबिना चेस खेल्न पनि रुचि राख्छिन् । बाल उदयबाट आफुलाई अगाडि बढाउँने योजनामा रहेकी उनी फाइन आर्ट विषय नै पढ्न पाए हुन्थ्यो भन्ने सोच राख्छिन् । उनी कलाकर्मको ध्यानमै आफुलाई तल्लिन राख्छिन् ।