साहित्यिक समाचार

कला/साहित्य ताजा अपडेट
श्रावण ३२, काठमाडौं । फ्ल्यास खबर
२०७६ साउन ३२ गते शनिवारका दिन दक्षिणकाली नगरपालिका वडा नं. ३ सोखेलस्थित पावर हाउस पोखरी (चन्द्रज्योति जल विद्युत गृह पोखरी)मा फर्पिङ दक्षिणकालीका स्थानीय साहित्य अनुरागी, साहित्य सेवीहरु रीता बलामी, वीरेन्द्रकुमार बलामी, विजयकुमार महर्जन लगायतका महानुभावहरुको विशेष आयोजना तथा स्थानीय समृद्ध नेपाल संस्थाको सहकार्यमा आयोजित वृहत साहित्यिक भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।
हालै दिवंगत साहित्यकारहरू मदनमणि दीक्षित र लक्खीदेवी सुन्दासको सम्झनामा एक मिनेट मौनधारण गरी शुरु गरिएको उक्त कार्यक्रममा राष्ट्रिस्तरका वरिष्ठ साहित्यकारहरु किशोर पहाडी, धीरकुमार श्रेष्ठ, नारायण तिवारी, स्नेह सायमी, रासा, मञ्जु तिवारी काँचुली, राजेन्द्र सलभ, विधान आचार्य, कृष्ण प्रधान, भिष्म उप्रेती, निशा के.सी. लगायतका महानुभावहरुले आफ्नो प्रस्तुती राख्नु भएको थियो । यसैगरी स्थानीय साहित्यनुरागीहरुः केदारनाथ आचार्य, रामबहादुर बस्नेत, शेखरकुमार श्रेष्ठ, चन्चल वान्तवा, राजेन्द्र बलामी, अभिशान्त, रजनी खत्री र रीता बलामी लगायतका साहित्यकारहरुले आआफ्नो प्रस्तुति गीत गजल र कविता मार्फत राखेका थिए ।
करिब ३ घण्टाको उक्त कार्यक्रममा स्वागत तथा कार्यक्रम माथि प्रकाश साहित्यनुरागी वीरेन्द्रकुमार बलामीले राख्नु भएको थियो उहाँले साहित्यिक चौतारीको रुपमा यस स्थानलाई विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने कार्यक्रम स्थानको जानकारी सहित साहित्यकारहरुलाई सम्मान गर्न उभिएका अर्का साहित्यसेवी विजयकुमार महर्जनले यस प्रकारको कार्यक्रमलाई त्रैमासिक/अर्धवार्षिक वा वार्षिक रुपमै भएपनि यस ऐतिहासिक पृष्ठभूमि बोकेको स्थान पावर हाउस पोखरीमा निरन्तर चलाउने कुरा राख्नु भएको थियो ।
यस कार्यक्रमलाई संयोजन सहजीकरण गर्नु हुने साहित्यकारहरु किशोर पहाडी र धीरकुमार श्रेष्ठले अबका दिनमा सञ्चालन हुने यस प्रकारका कार्यक्रममा पनि हातेमालो हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । साहित्यकारहरुको साहित्यिक प्रस्तुतिबाट शितल शितल हावा चलिरहँदा माहौल भने तातेको थियो । त्यो तातेको माहौललाई फर्पिङको प्रसिद्ध नासपाती, काँक्रो, मकै, भटमास, साँधेको गुन्द्रुकले अझ शितल बनाएको थियो |