Winner Ward 9

वडा नं. ९ विजयी: दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ को उपाधि हात पार्यो

अन्य खेलकुद ताजा अपडेट ब्रेकिंग समाचार

दक्षिणकाली नगरपालिकामा सञ्चालन भएको “दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२” को रोमाञ्चक फाइनल खेलमा वडा नं. ९ ले वडा नं. ५ लाई ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। त्रिभुवन आदर्श मा.वि.को खेल मैदानमा सम्पन्न फाइनल खेल दर्शकको उत्साहजनक उपस्थितिका बीच अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो।

खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। पहिलो हाफमा दुवै टोलीले बराबरी १-१ गोल गर्दै खेललाई सन्तुलित बनाएका थिएभने दोस्रो हाफमा कुनै गोल नहुदा पेनाल्टी प्रहारमा खेल गएको थियोे । पेनाल्टी प्रहारमा वडा नं ९ को ४ तथा वडा नं ५ को ३ गोल भएको थियो ।

फाइनल खेलमा सेलिब्रेटी अतिथिको रूपमा महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी निशा थोकरको उपस्थिति रहेको थियो। समापन समारोहमा विजेता वडा नं. ९ र उपविजेता वडा नं. ५ लाई पुरस्कार वितरण गर्नुका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र अनुशासित टोलीलाई समेत सम्मान गरिएको थियो भने फाइनल खेलको म्यान अफ दि म्याच  वडा नं ९ का विजय श्रेष्ठ भएका थिए ।

टुर्नामेन्टका अन्य उत्कृष्ट विधागत उपाधिहरू यसप्रकार रहेका छन्:

  • बेस्ट प्लेयर अफ द टुर्नामेन्ट: राजन बल (वडा नं. ५)
  • हाई स्कोरर: यमन महर्जन (वडा नं. ५)
  • बेस्ट गोलकिपर: हरिशंकर तामाङ(वडा नं. ९)
  • बेस्ट डिफेन्डर: सुवास पाख्रिन लामा(वडा नं. ५)
  • इमर्जिङ प्लेयर: आर्यन थापा(वडा नं. १)
  • बेस्ट टिम: वडा नं. ७
  • बेस्ट कोच: सुरेन्द्र तामाङ (वडा नं. ९)

शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा तथा दक्षिणकाली नगरपालिकाको आर्थिक सहयोगमा आयोजित यस प्रतियोगिताले खेलकुदमार्फत शहीदप्रति सम्मान प्रकट गर्नुका साथै युवाहरूमा अनुशासन, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

नगरवासी, खेलप्रेमी र युवायुवतीहरूको उल्लेख्य उपस्थितिले प्रतियोगितालाई थप भव्य र सफल बनाएको थियो। आयोजकले प्रतियोगिताको सफलतामा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।