निपा भाइरसको संक्रमण निपा भाइरसका कारण हुने एक गम्भीर र खतरनाक भाइरल रोग हो, जो मुख्यतः पशुबाट मानिसमा सर्ने गर्दछ। यो भाइरस प्राकृतिक रूपमा टेरोपस प्रजातिका चमेरोमा पाइने गर्दछ। चमेराको जुठो, पिसाब वा दिसाबाट प्रदूषित भएका फलफूल तथा अन्य खानेकुरा सेवन गर्दा मानिसमा संक्रमण सर्ने जोखिम रहन्छ।
निपा भाइरस पहिलो पटक सन् १९९९ तिर मलेसिया र सिंगापुरमा पत्ता लागेको थियो। त्यतिबेला सुँगुर फार्ममा काम गर्ने किसान तथा उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूमा संक्रमण देखिएको थियो। त्यसयता यो भाइरस पशुबाट मानिसमा सर्ने नयाँ र घातक रोगका रूपमा चिनिँदै आएको छ, जसले मानिस र पशु दुवैलाई संक्रमित गर्न सक्दछ।
संक्रमणको सुरुआती चरणमा यसका लक्षणहरू सामान्य इन्फ्लुएन्जा (फ्लु) जस्तै देखिन्छन्। ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने तथा टन्सिलाइटिसजस्ता लक्षणहरू देखा पर्न सक्छन्। संक्रमण बढ्दै जाँदा भाइरसले स्नायु प्रणालीमा असर पुर्याउने हुँदा रिंगटा लाग्ने, झुम्म हुने, कहिलेकाहीँ बेहोस हुनेजस्ता इन्सेफ्लाइटिसका लक्षण देखिन थाल्छन्। केही संक्रमित व्यक्तिमा निमोनिया तथा श्वासप्रश्वासमा समस्या देखिन सक्छ। रोग जटिल बन्दै गएमा हातगोडा काम्ने, मस्तिष्क सुन्निने र लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्र कोमामा समेत जान सक्ने खतरा रहन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार निपा भाइरस संक्रमण भएका करिब ४० देखि ७५ प्रतिशतसम्म मानिसको मृत्यु हुन सक्ने सम्भावना रहन्छ। बाँकीमध्ये करिब २० प्रतिशत व्यक्तिमा दीर्घकालीन स्नायु प्रणालीसम्बन्धी समस्या, जस्तै शरीर काँप्ने वा व्यक्तित्व परिवर्तनजस्ता लक्षण देखा पर्न सक्छन्। यद्यपि, सामान्य मस्तिष्क सुन्निने अवस्थालाई जित्न सक्ने व्यक्ति भने पूर्ण रूपमा निको हुन सक्ने बताइएको छ।
निपा भाइरसबाट बच्न बिरामी पशुपक्षीको सम्पर्कमा नजाने, पशुपक्षीसँग काम गर्ने व्यक्तिले विशेष सावधानी अपनाउने, गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा मास्क तथा पञ्जा प्रयोग गर्ने, पानी उमालेर पिउने, साबुनपानीले नियमित हात धुने तथा भिडभाडमा मास्क लगाउने जस्ता उपायहरू अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ। साथै तरकारी, फलफूल राम्रोसँग पखालेर र माछामासु राम्रोसँग पकाएर खानु अत्यावश्यक रहेको उनीहरूको भनाइ छ।
छिमेकी मुलुक भारतका केही स्थानमा निपा भाइरसको संक्रमण देखिएको विवरण सार्वजनिक भएसँगै नेपाल सरकारले पनि सतर्कता अपनाउन आग्रह गरेको छ। हालसम्म नेपालमा निपा भाइरसको संक्रमण पुष्टि नभए पनि जोखिमलाई मध्यनजर गर्दै सचेत रहनु आवश्यक देखिएको छ।
तराई क्षेत्रसँग खुला आवतजावत हुने प्रमुख नाकामध्ये दक्षिणकाली नगरपालिका पनि एक भएकाले यहाँ समयमै सावधानी अपनाउनुपर्ने देखिन्छ। त्यसका लागि नगरपालिकाले आफ्ना मातहतका स्वास्थ्य शाखा, अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनुका साथै नगरवासीहरूलाई निपा भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे समयमै जानकारी गराउनु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।